१२ माघ २०७६, आईतवार

काठमाडौं, १२ माघ । कालिकोटको तिलागुफा नगरपालिका उपप्रमुख दन्ता नेपाली (दर्शना)ले आफू अमेरिकामा सम्पर्कविहीन नभएकी बताएकी छन् ।

केही समय यता एक गोष्ठीका लागि नगरपालिकाको प्रतिनिधित्व गर्दै अमेरिका पुगेकी उपप्रमुख दर्शना विगत चार महिनादेखि नगरपालिकाले सम्पर्कमा नरहेको समाचार आउन थालेको थियो ।

यसैबीच उपप्रमुख दर्शनाले फेसबुकमार्फत आफू सम्पर्कविहीन नभएकी बताएकी हुन् । उनले लेखेकी छन्, ‘ओरालो लागेको मृघलाई सबैले खेद्छन् भन्थे, हो रहेछ, आज आएर बुझ्दैछु । म कतै हराएकी पनि छैन । कतै लुकेकी पनि छैन ।’

तिलागुफा नगरपालिका प्रमुख रतन शाहीलाई नै भ्रमणको स्वीकृती गराएर आफू अमेरिका गएको उपप्रमुख दर्शनाले उल्लेख गरेकी छन् । त्यस्तै अमेरिकाबाट अफूले पटक–पटक कार्यालयमा मेयर शाहीलाई सम्पर्क गर्दा पनि कहिल्यै फोन नउठाएको उपप्रमुख दर्शनाको दाबी छ ।

यसरी मेयर शाहीसँग सम्पर्क हुन नसकेपनि प्रमुख प्रशासकीय अधिकृत उद्धब रिजाल र वडा अध्यक्षहरुसँग आफ्नो कुरा भइरहेको उनको भनाइ छ ।

विरामी रहेकी उपप्रमुख दर्शनाले आफू राम्रोसँग बोल्न पनि सक्ने अवस्थामा रहेकी उल्लेख गरेकी छन् । आफ्नो उपचार भारतीय डा.अञ्जिर कुमारले गरिरहेको कुरा पनि उल्लेख गरेकी छन् । अझैं आफू पूर्ण रुपमा निको हुन पाँच महिनाजति लाग्ने समेत उल्लेख गरेकी छन् ।

LIVE TV