१२ माघ २०७६, आईतवार
  • देवराज पन्त

मकवानपुर, १२ माघ । सामान्यतयाः एम्बुलेन्स भन्ने बित्तिकै बिरामी बोक्ने सवारी साधन भन्ने बुझिन्छ । सरकारले समेत जनतालाई स्वास्थ्य सेवा पाउन भन्दै विभिन्न स्वास्थ्य संस्थालाई एम्बुलेन्स प्रदान गरेको पनि छ । तर सोही एम्बुलेन्सले बिरामी नबोकी कानूनले बर्जित गरेको लागूऔषध गाँजा ओसार्न प्रयोग गरेमा के हुन्छ ? तर, त्यस्तै घटना भयो, बागमती प्रदेशको राजधानी हेटौंडामा ।

मकवानपुर प्रहरीले सुराकीको आधारमा बिरामी बोक्ने सरकारी एम्बुलेन्सबाट लागूऔषध गाँजा ३० केजी ६ सय ग्राम बरामद गरेको छ । इशनाथ नगरपालिका डुमरीया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्स नेवारपानीमा प्रहरी टोलीले चेकजाँच गर्दा गाँजा लैजादै गरेका ३ जनालाई हिजो शनिबार साँझ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एम्बुलेन्स चालक रौतहटको डुमरीया परोहा ९ बस्ने ३९ बर्षीय मोहमद खलिद, डुमरीया–४ का १९ बर्षीय अशोक कुमार र भारत विहार मोतिहारी बसन्तपुरका २२ बर्षीय विनोद सहनीलाई पक्राउ गरी आज आईतबार बिहान जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेका छन् ।

मनहरीबाट हेटौँडातर्फ आउँदै गरेको इशनाथ नगरपालि स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको एम्बुलेन्स नेवारपानीमा प्रहरी टोलीले चेकजाँच गर्दा ३ वटा झोलामा ६ वटा पोका बनाई एम्बुलेन्स भित्र लुकाई राखेको ३० केजी ६ सय ग्राम लागुऔषध गाँजा बरामद भएको थियो । प्रहरीले ९१ हजार रुपैँया र २ हजार २ सय भारतीय रुपैँया समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यस्तै, मकवानपुर प्रहरीले हिजो साँझ करिब ८ बजेतिर पूर्वपश्चिम राजमार्गको हेटौंडा वडा नम्बर १० को सडक खण्डबाट यात्रुबाहक ना. ७ ख ६९० नम्बरको बसबाट १० केजी ५ सय ६० ग्राम लागूऔषध गाँजा बरामद गरेको छ । प्रहरीले सो बसमा यात्रुका रुपमा सवार मकवानपुर राक्सिराङ्ग वडा नम्बर ९ का ३५ बर्षीय ज्ञानबहादुर प्रजा, वडा नम्बर २ का ४२ बर्षीय कान्छाराम मुक्तानलाई समेत पक्राऊ गरेको उनीहरुले बोकेको झोला चेकजाँच गर्दा सो परिमाणको लागूऔषध फेला परेको मकवानपुर प्रहरी प्रमुख सुशीलसिंह राठौरले बताएका छन् ।

पक्राऊ परेका उपर लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार २ बर्षदेखि १० बर्षसम्म कैद र १५ हजारदेखि १ लाख रुपैँया जरिवाना तथा सवारी साधन जफत हुने कानूनी प्रावधान बमोजिम हुने बताईएको छ । आज गरिएको पत्रकार सम्मेलनमा ७२ थान लागूऔषध नाईट्रोभेट सहित पक्राऊ परेकालाई पनि सार्वजनिक गरेको छ । प्रहरीले लागूऔषधसहित हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ का २२ बर्षीय बिजय डिमडुङ्ग र वडा नम्बर १६ बस्ने बर्ष २५ का सोम थोकरलाई पक्राऊ गरेको जनाएको छ ।

हिजो शनिबार साँझ हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ बाट शंकास्पद रुपमा हिडिरहेका उनीहरुलाई सो परिमाणको लागूऔषध सहित पक्राऊ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई लागूऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम २ बर्षदेखि १० बर्षसम्म कैद र १ लाख देखि २० लाख रुपैयाँसम्म जरिवाना हुने मकवानपुर प्रहरीले बताएको छ ।

LIVE TV