१२ माघ २०७६, आईतवार

काठमाडौं, १२ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता, पूर्वमन्त्री तथा सांसद गगन कुमार थापाले गोकर्ण-यति प्रकरणमा संसदको ध्यानाकर्षण गराएका छन् ।

उनले गलत नियतका साथ नेपाल ट्रष्ट ऐन बदलेर प्रचलित कानूनलाई बेवास्ता गरी गरेको निर्णयलाई सरकारले कानून बमोजिम भनिरहँदा संसद समेत त्यसमा जोडिएको उल्लेख गरेका छन् ।

संसद्‍को कानुन न्याय तथा मानवअधिकार समितिमा दर्ता गरेको पत्रमा उनले गोकर्ण -यति प्रकरणमा संसद् समेत जोडिएकाले त्यसबारे संसद्‍ले प्रष्ट पार्नुपर्ने माग गरेका हुन्।

माघ ९ गते उक्त समितिमा दर्ता गराएको सो पत्र थापाले शनिवार सार्वजनिक गरेका हुन्। शनिवार साँझ आफ्नो फेसबुक पेजमा संसदीय समितिमा बुझाएको पत्र सार्वजनिक गर्दै थापाले यस्तो टिप्पणी गरेका छन् ।

उनले पत्र सार्वजनिक गर्दै स्टाटसमा लेखेका छन्,”संसदले सरकारले जस्तै बदनियतका साथ ऐन संसोधन गरेको थियो वा संसदलाई सरकारले झुक्काएको थियो? यसवारे संसदले प्रष्ट गर्नुपर्दछ।‪संसद र संसदीय समितिको गरिमा तथा संसदप्रतिको जनविश्वाससंग समेत जोडिएकोले यति प्रकरणमा अविलम्ब छलफल गर्न,समितिको धारणा सार्वजनिक गर्न र सरकारलाई आवश्यक निर्देशन दिन संसदको कानून,न्याय तथा मानवअधिकार समितिमा ध्यानाकर्षण पत्र पेश गरेको छु।विश्वास छ,समितिले आवश्यक पहलकदमी लिनेछ।‬”

LIVE TV