१२ माघ २०७६, आईतवार

रसुवा, १२ माघ । रसुवागढी नाकाबाट नेपाल प्रवेश गर्ने चिनियाँ तथा विदेशी पर्यटकमा कोरोना भाइरसको कुनै लक्षण देखिएमा चिनियाँ भूभागबाटै फिर्ता गरिने भएको छ। रसुवागढी नाकास्थित चीनतर्फ रहेको चिनियाँ क्यारेन्टाइनले स्वास्थ्य परीक्षण गरेर संक्रमणको लक्षण देखिएमा त्यहीबाट फिर्ता गर्ने जनाएको हो।

चिनियाँ तथा विदेशी पर्यटक भए त्यहीबाट फर्काउने र नेपाली रहेको खण्डमा नेपालस्थित रसुवागढी नाकामा रहेको हेल्थ डेक्समा पठाउने चिनियाँ क्वारेन्टाइनको तयारी छ। जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र चिनियाँ क्वारेन्टाइन बीच भएको अनौपचारिक छलफलमा चिनियाँ पक्षले कोरोनाको लक्षण देखिएको बिरामीलाई नेपालतर्फ नपठाउने जानकारी दिएको हो।

मन्त्रालय तथा विभागबाट कुनै पनि निर्देशन नआएको भएपनि जोखिमलाई मध्यनजर गर्दै जिल्लास्तरबाटै शनिबारदेखि नाकाबाट सेवा सुरु गरिएको छ। त्यहाँ रहेको हेल्थ डेक्सबाट सेवा सुरु गरिएको हो। शनिबार शंका लागेका एक जना पनि बिरामी नआएका स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले बताए। यो खबर आजको नागरिक दैनिकले छापेको छ ।

LIVE TV