११ माघ २०७६, शनिबार
  • सुवास लामिछाने

पर्वत, ११ माघ । छैटौँ पर्वत महोत्सवमा दर्शकहरुको घुइचो दिन प्रतिदिन बढ्दै गएको छ । महोत्सवमा शनिबार दर्शकहरुको जनसागर उर्लिएको हो । एकैदिन ३० हजार दर्शकले मेलाको अवलोकन गरेको आयोजकले जनाएको छ ।

शनिवार विदाको दिन परेको हुदाँ पनि अत्यधिक दर्शक महोत्सव अवलोकनका लागि आएको आयोजकले जनाए छ । महोत्सव समयमा झण्डै १ करोड बराबरको आर्थिक कारोबार भएको आर्थिक संयोजक गोपि अधिकारीले जानकारी दिनुभयो ।

दर्शकहरुको उत्साहजनक सहभागिताले हौसला थपिएको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष तथा महोत्सव मुल आयोजक समितिका संयोजक केदारनाथ शर्माले जानकारी दिनुभयो । उहाँले दर्शकले गरेको अपार मायाका कारण महोत्सव पूर्ण रुपमा सफलताको नजिक पुगेको महसुस भएको संयोजक शर्माले बताउनुभयो ।

पर्वत उद्योग वाणिज्य संघले हरेक तीन – तीन वर्षमा गर्दै आएको महोत्सवलाई अरु मेलाको तुलनामा भिन्न बनाउने प्रयास गरिएकोले दर्शकहरुको आकर्षण बढेको उहाँले दाबी गर्नुभयो । दर्शकहरुको रुची र चाहानालाई मध्यनजर राख्दै विविधतापूर्ण मनोरञ्जनको व्यवस्था मिलाइएको महोत्सव प्रचार संयोजक तथा उद्योग उपाध्यक्ष ठाकुर बि पौडेलले बताउनुभयो । जसले गर्दा मेलामा आउने दर्शकहरु पूर्ण रुपमा सन्तुष्ट रहेको पौडेलको भनाइ थियो ।

दर्शकहरुको चापले मेलास्थल भरिभराउ बनेको थियो । दैनिक उपभोग्य सामग्री, लत्ताकपडा, हस्तकला, कृषिजन्य उत्पादन लगायतका स्टलहरुमा दर्शकहरुको भिड लागेको थियो ।

सबै महोत्सव स्टलहरुमा अरु दिनको तुलनामा आज उच्च आर्थिक कारोबार भएको स्टल संयोजक सुनिल भुसालले बताउनुभयो । मेलामा रोमाञ्चक भलिबल प्रतियोगिताले थप रौनकता थपेको थियो । त्यस्तै महोत्सवमा ‘आई लभ पर्वत’ नामक काठको तस्वीर अंकित ठाउँले दर्शकलाई आकर्षित गरेको छ । उक्त स्थानमा दिनभर सेल्फी खिच्नेहरुको भिड देखिन्थ्यो ।

राष्ट्रिय कलाकारहरुको प्रस्तुतीले पनि दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्यो । साझ चर्चित गायक रामकृष्ण ढकालले स्टेज तताएका थिए । लोक पप गायक ढकालको एकल सांझ महोत्सवको मुख्य आकर्षणको केन्द्र वनेको थियो । त्यस्तै विमलराज क्षेत्री, सरस्वती लामिछाने र स्थानिय कलाकारको प्रस्तूतिलाई दर्शकहरुले मनोरन्जनको साथ हेरी रहेका थिए ।

LIVE TV