नारायणी नदी किनारमा सुरु भयो कोटिहोम महायज्ञ



प्रकाशित मिति : Jan 25, 2020
  • केदार शर्मा

चितवन, ११ माघ । जगतपुरको पशुपति मन्दिरलाई वृहत धामको रुपमा विकास गर्नुका साथै आयुर्वेदिक शिक्षालयको स्थापना गर्ने उद्देश्यसहित नारायणी नदी किनारमा आजबाट कोटिहोम महायज्ञको सुरु भएको छ ।

आगामी फागुन ११ गतेसम्म सञ्चालन हुने महायज्ञबाट क्यान्सर रोगबाट पीडित विपन्न परिवारकालाई सहयोग गर्नेलगायतका धार्मिक, शैक्षित तथा सामाजिक कामलाई समेत समेटिने पशुपति मन्दिर ब्यबस्थापन समितिका अध्यक्ष मनोज पुडासैनीले जानकारी दिए । महायज्ञमा हवनका लागि नेपाल तथा भारतका विभिन्न तीर्थस्थलबाट १०८ पण्डितहरु महायज्ञस्थल छन् ।

महायज्ञ अवधिभर विवाह गराइने उल्लेख गर्दै साधारण विवाहका लागि पाँच हजार १०० रुपैयाँ भएपनि हात्तीमा सवार गराएर विवाह गराएमा ११ हजार रुपैयाँ शुल्क बुझाए पुग्ने महायज्ञका मुल वाचक वालयोगेश्वर महाराजश्रीको भनाइ छ । महायज्ञ पूर्णरुपमा दर्ता भएर आयोजना गरिएको उल्लेख गर्दै महाराजश्री बाहिरी हल्लाको पछि नलाग्ने समेत आग्रह गरेका छन् ।

आजबाट सुरु भएको १०८ कुण्डीय कोटिहोम शैक्षिक, धार्मिक तथा सांस्कृतिक तुलादान, माघी मेला महामहोत्सव एवम् सङ्गीतमय लीलामय १०८ श्रीमद्भावत धनधान्याचल पितृमोक्ष बिराट मासिक ज्ञान महायज्ञ २०७६’ मा १०८ पण्डितद्वारा १०८ हवन कुण्डमा हवनसहित कथा वाचन हुनेछ ।

नेपालको इतिहासमा नै पहिलो पटक ठूलो महायज्ञको आयोजना गरिएको उल्लेख गर्दै महायज्ञ मूल समितिका महासचिव एवम् प्रवक्ता दिलिप न्यौपानेले यसले नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पु¥याउने बताए । सो महायज्ञ सञ्चालनका लागि तीन करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको उल्लेख गर्दै महायज्ञका प्रवक्ता न्यौपानेले २५ करोड रुपैयाँभन्दा बढी रकम सङ्कलन गरिने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com