नेकपा र नेकाँका शीर्ष नेताहरुको बैठक : भागवण्डामा कुरा नमिल्दा छलफल निष्कर्षविहीन



प्रकाशित मिति : Jan 25, 2020

काठमाडौं, ११ माघ । संवैधानिक परिषद नियुक्ति र विश्वविद्यालयका पदाधिकारीको नियुक्तिको विषयमा सत्तारुढ नेकपा र प्रतिपक्षी दल नेपाली कांग्रेसबीच भएको छलफल निष्कर्षविहीन बनेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा संवैधानिक परिषद र विश्वविद्यालयको पदाधिकारीको भागवण्डाका विषयमा छलफल भएको हो । छलफल भएपनि विश्वविद्यालयका पदाधिकारी भागबण्डाका विषयमा भने सहमति जुट्न नसकेको बताइएको छ ।

पदाधिकारी विहीन बनेको ६ विश्वविद्यालयमा नियुक्तिको विषयलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकबीच छलफल भएको थियो ।

करिब ३ घण्टा बसेको दुवै दलका शीर्ष नेताहरूबीचको वैठकमा विश्वविद्यालयका पदाधिकारी भागबण्डामा सहमति जुट्न नसकेपछि बैठक निष्कर्षविहीन भएको थियो ।

नेकपा र कांग्रेसबीच कुरा नमिल्दा कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, पोखरा विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय लामो समयदेखि उपकुलपति विहीन छ ।

त्यस्तै, पूर्वाञ्चल विश्वविद्यालय र नेपाल संस्कृत विश्वविद्यालयमा उपकुलपतिसहित सेवा आयोगका अध्यक्ष र सदस्य पद रिक्त छन् । यी विश्वविद्यालयको शैक्षिक र प्रशासनिक वातावरण पदाधिकारी नियुक्त हुन नसक्दा ठप्प बनेको छ ।

यसैबीच बैठकमा राज्य सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्ने बिषयमा दलहरु सहमत भएका छन् ।

शीर्ष नेताहरुबीचको भेटमा संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तिसम्म आधार तयार गरिएको बुझिएको छ । शीर्ष नेताहरुबीचको छलफलमा उपसभामुख चयनको विषयले पनि प्रवेश पाएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com