११ माघ २०७६, शनिबार
  • बालबिक्रम कार्की,

रौतहट, ११ माघ । रौतहटको चन्द्रपुर नगरपालिकामा जारी चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता २०७६ को दोस्रो दिन शनिबार भएको खेलमा विराटनगरले विजयी सुरुवात गर्दा वालिङ्ग र बाँसगढीले अंक बाँडेका छन् ।

चन्द्रपुर नगरपालिका ६ स्थित शेरबहादुर दर्लामी स्मृति हातेमालो खेल मैदानमा भएको स्याङ्जाको वालिङ्ग नगरपालिका र बर्दियाको बाँसगढी नगरपालिबीचको शनिबारको पहिलो खेल १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

बराबरीपछि दुबै टिमले समान १–१ अंक बाँडेका छन् । खेलको पहिलो हाफमा दुबै टिमले गोल गर्ने केही राम्रा अवसर गुमाउँदा बराबरीमा टुंगिएको थियो । वालिङ्ग नगरपालिकाको एकपछिको निरन्तर आक्रमणलाई बाँसगढीमा रक्षापंक्तिका खेलाडीहरुले असफल पारेका थिए ।

बाँसगढीको रक्षापंक्तिकी खेलाडी सुष्मिता चौधरीले बाँसगढीका अग्रपंक्तिका खेलाडीका धेरै प्रयासलाई विफल पारेकी थिइन । त्यसैगरी बाँसगढीकी गोलरक्षक जान्वी केसीले पनि आकर्षक बचाउ गर्दै आफ्नो टिमलाई थप गोल खानबाट जोगाएकी थिइन् ।

खेलको दोस्रो हाफको १४ औँ मिनेटमा अजिता घर्ती मगरको गोल मार्फत बाँसगढीले अग्रता लिएको थियो । सुरक्षा सुखरियाले डिबक्स भित्र निकालेको पासलाई मगरले गोलरक्षकलाई छक्याउँदै जाली चुमाएकी थिइन् । गोल खाएपछि वालिङ्ग नगरपालिका निकै आक्रमण रुपमा प्रस्तुत भएको थियो ।

उसले विपक्षीको पोष्टमा निरन्तर आक्रमणको जालो बुनेको थियो । दोस्रो हाफको ४३ औँ मिनेटमा वालिङ्गले पेनाल्टी मार्फत खेल बराबरीमा गर्ने मौका पाएको थियो । डि–बक्सभित्र बाँसगढीकी खेलाडीको हातमा बल लागेपछि पाएको पेनाल्टीलाई वालिङ्गकी मनमाया दमाईले गोल गर्दै खेल बराबरीमा उभ्याएकी थिइन ।

धामीले गोलपोष्टको दाहिने कुनामा सुन्दर गोल गरेकी थिइन् । खेलको वुमन अफ दि म्याच बाँसगढीकी सुरक्षा सुखरिया घोषित भएकी थिइन् ।

यसैगरी शनिबार नै सम्पन्न मोरङ्गको विराटनगर महानगरपालिकाले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई १–० ले पराजित गरेको छ । प्रतियोगिताको वलियो टिम मानिएको विराटनगरलाई वीरेन्द्रनगरले पहिलो हाफको खेलमा बराबरीमा रोक्न सफल भएको थियो ।

पहिलो हाफको खेल अवधिभर बीरेन्द्रनगरमाथि लगातार हावी भएको विराटनगरले गोल भने गर्न सकेन् । विराटनगरका खेलाडीका केही राम्रा प्रहारलाई बीरेन्द्रनगरकी गोलरक्षक सलिना चाैधरीले विफल तुल्याएकी थिइन् ।

खेलको दोस्रो हाफमा पनि विराटनगरले गोल गर्न गरेको निरन्तरको प्रयासले सफलता भने दोस्रो हाफको २७ औँ मिनेटमा मात्र पाएको थियो ।

विराटनगरको तर्फबाट सावित्री मगरले निर्णायक गोल गर्दै आफ्नो टिमलाई विजयी गराउँदै महत्वपूर्ण ३ अंक दिलाएकी थिइन । खेलको वुमन अफ द म्याच बीरेन्द्रनगरकी सलिना चाैधरी घोषित भएकी थिइन ।

प्रतियोगितामा समुह क अन्तर्गत बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोक, चन्द्रपुर नगरपालिका रौतहट, बिदुर नगरपालिका नुवाकोट र चौदण्डीगढी नगरपालिका उदयपुर रहेका छन्, भने समूह ‘ख अन्तर्गत वालिङ्ग नगरपालिका स्याङ्जा, बाँसगढी नगरपालिका बर्दिया, बीरेन्द्रनगर नगरपालिका सुर्खेत र विराटनगर महानगरपालिका मोरङ्ग छन् ।

LIVE TV