‘‘कोरोना’ भाइरसको नयाँ प्रजाति हो, नेपालमा डराइहाल्नु पर्ने अवस्था छैन’



प्रकाशित मिति : Jan 25, 2020

काठमाडौं, ११ माघ । चीनमा विकराल बन्दै गएको कोरोना भाइरसको संक्रमण नेपालमा देखिए पनि यसबाट डराइहाल्नु पर्ने अवस्था नरहेको सरोकारवालाहरुले प्रष्ट पारेका छन् । तर, रोगको लक्षण देखिएमा तत्काल परीक्षण गराउन पनि उनीहरुको सुझाब छ ।

शनिबार काठमाडौंमा आयोजित साक्षात्कारमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले कोरोना भाइरस सरुवा रोग भएकाले सतर्क हुनुपर्ने तर धेरै डराउनुपर्ने अवस्था नरहेको स्पष्ट पार्नुभयो ।

कोरोना भाइरसको विस्तृत जानकारी अझै प्राप्त नभएको तर मन्त्रालयले सबै पूर्व तयारी गरेको पनि उहाँको भनाइ छ । “कोरोना भाइरस अध्ययनकै विषय बनेको छ । धेरै प्रश्नहरु अनुत्तरित छ । तर धेरै भयावह स्थिति छैन”, श्रेष्ठले भन्नुभयो ।

साक्षात्कारमा प्रवक्ता श्रेष्ठले चीनमा कोरोना भइरसबाट संक्रमण भएकामध्ये ३ देखि ४ प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क उल्लेख गर्दै छिमेकी देशमा नयाँ रोग फैलिँदा नेपाल सरकार चुप लागेर नबस्ने विश्वास दिलाउनुभयो ।

चीनबाट नेपाल आएका एक नेपाली नागरिकमा भाइरसको संक्रमण देखिएपनि अन्यमा फैलिएला कि भनेर डराउनुपर्ने अवस्था नरहेको श्रेष्ठको दाबी छ ।

“स्वास्थ्य मन्त्रालय सजग छ । अहिले एक जनामा मात्रै देखियो, उहाँ निको भइसक्नुभयो । उपचार गर्ने स्वाथ्यकर्मी र साथीभाइहरुको खोजी गरेर परीक्षण गराउँदैछौँ । उहाँबाट कसैलाई सरेको जस्तो लाग्दैन”, श्रेष्ठले भन्नुभयो ।

तर, चीनसँगको सिमाना नजिक भएकोले नेपालमा पनि कोरोना भाइरस संक्रमण होला कि भनेर आफूहरु सचेत भएर बसेको श्रेष्ठको भनाइ छ । नाकाहरु र विमानस्थलमा सतर्कता अपनाउने योजना लागू भइसकेको श्रेष्ठले बताउनुभयो ।

चीनसँगका नाका तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत चीनबाट आउने सबै व्यक्तिको स्वास्थ्य परीक्षण गरिने श्रेष्ठले जानकारी दिनुभयो । “शंका लागेमा सीधै टेकुस्थित् शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाउँछौँ । अस्पतालमा पनि छुट्टै राखेर कोरोना हो कि हैन भनेर परीक्षण गर्छौँ ।”

टेकुमा ठाउँ पुगेन भने पाटन अस्पताललाई पनि तयारी अवस्थामा रखिएको श्रेष्ठले जानकारी दिनुभयो ।

प्रवक्ता श्रेष्ठले जनतालाई पनि सचेत गराउनुपर्ने भन्दै धेरै डराउनुपर्ने अवस्था भने नरहेको बताउनु भयो । कोरोना भाइरसको बारेमा विश्व स्वास्थ्य संगठनले पनि अध्ययन गरिरहेको जानकारी दिदै श्रेष्ठले नेपाल पनि चनाखो भएर बसेको बताउनुभयो ।

त्यसैगरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा.वासुदेव पाण्डेले कोरोना भाइरसबारे जानकारी दिदै सरसफाइमा ध्यान दिने हो भने संक्रमणबाट बँच्न सकिने बताउनुभयो ।

अहिले देखिएको कोरोना भाइरस विगतमा देखिएको तर अहिले नयाँ प्रजाति भेटिएको उहाँको भनाई छ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल संक्रमण नियन्त्रण गर्न तयारी अवस्थामा रहेको पनि उहाँको दावी छ ।

“कोरोना भइरस अरु प्रजातिमा पनि छन् । २००३ सालमा सार्स आयो । त्यसबेला पनि टेकु अस्पतालले नै नियन्त्रण गर्यो । अहिलेको कोरोना भाइरस पनि सार्ससँग मिल्दोजुल्दो छ । हामी तयारी अवस्थामा छौँ ।” उहाँले भन्नुभयो ।

नेपालमा एक जनामा संक्रमण देखिए पनि ति व्यक्ति चीनबाट आएकाले नेपालमा रहनेलाई संक्रमणको खतरा धेरै नभएको उहाँको जिकिर छ ।

“नेपालमै संक्रमण भएको हैन । चीनबाट आएको हुनाले देखिएको हो । उहाँबाट अरुलाई सर्ने सम्भावना छैन । उहाँ पनि पूर्ण निको भएर घरमा बसिरहनुभएको छ । यद्यपी व्यक्तिगत सरसफाइमा ध्यान दिनुपर्छ ।”

पाण्डेले भन्नुभयो “टेकु अस्पताल पूर्ण तयारीमा छ । आवश्यक बेड तयार पारेका छौँ । कसैलाई शंका लागेमा हामी अनुसन्धान गर्न सक्षम छौँ ।”

कोरोना भाइरस श्वाँसप्रश्वाससँग सम्बन्धित् भाइरस भएकाले एक मिटरको दुरीसम्म एक व्यक्तिले हाँच्छ्यु गर्दा अर्कोलाई सर्न सक्ने उहाँको भनाइ छ ।

“संक्रमणबाट जोगिन सरसफाईमा ध्यान दिनुपर्छ । चीनमा एक हजारभन्दा बढिमा संक्रमण भइसक्यो, केहीको मृत्यु पनि भइसक्यो त्यसैले सचेत हुनुपर्छ । तर पनि धेरै डराउनुपर्ने अवस्था छैन”, पाण्डेले भन्नुभयो ।

रोगसँग लड्ने क्षमता कम भएका वृद्ध, बालबालिका वा अरु विभिन्न रोगबाट ग्रसितलाई छिटो संक्रमण हुन सक्ने पाण्डेको भनाइ छ ।

त्यस्तै, कार्यक्रममा सरुवा रोग विशेषज्ञ चिकित्सक डा. शेरबहादुर पुनले पनि कोरोना भाइरसको बारेमा जानकारी दिदै चीनमा संक्रमण बढिरहे पनि नेपालमा धेरै डराउनु पर्ने अवस्था नरहेको बताउनुभयो ।

यो भाइरस जनावरबाट सर्ने भएकाले मासु खाँदा राम्रोसँग पकाएर खान सुझाब दिनुभयो । कोरोना भाइरस आपैmमा रोग नभई एउटा भाइरस मात्रै भएको उहाँको भनाइ छ ।

“कोरोना भाइरस आफैँमा नयाँ रोग होइन, यसपटकको भाइरस नयाँ प्रजाति हो । २००३ मा सार्स, २०१२ मा मर्स देखिएको थियो । २०१९ को अन्तिममा देखिएको हो कोरोना । यसको नाम २०१९ नोबल कोरोना हो”,
उहाँले भन्नुभयो ।

यद्यपी यो भाइरस नयाँ भएकाले धेरै जानकारी नभएको बताउँदै उहाँले तुलनात्मक रुपमा हेर्दा खतरा धेरै नभएको प्रष्ट पार्नुभयो ।

उहाँले यो भाईरसको लक्षणमा एक सय चारभन्दा बढी फरेन हाइटमा ज्वरो आउने, श्वाँसप्रश्वाँसमा अत्याधिक समास्या आउने, रुघा र खोकी लाग्ने मुख्य रहेका छन् । पुनले नोवल कोरोना भाइरसबाट कसरी आफू र अरुलाई बचाउने भन्नेबारे पनि बच्ने उपायहरु पनि सुझाउनु भएको छ ।

उहाँले अघि सारेका उपायमा नियमित रुपमा साबुन पानीले हात धुने, खोक्दा र हाँच्छ्यु गर्दा नाक र मुख छोप्ने, यदि फ्लुजस्तो लक्षण देखा परेमा चिकित्सिकसँग परामर्श लिने, फ्लुजस्तो लक्षण देखाउने जो कोहीबाट टाढा बस्ने, जंगली तथा घरेलु पशुपंक्षीहरुसँग असुरक्षित सम्पर्कबाट टाढा रहने र पशुजन्य मासु तथा अण्डा राम्रोसँग पाकेको मात्रै खाने रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com