किसानले सहज तरिकाले पाउदैनन् कृषि कर्जा !



प्रकाशित मिति : Jan 25, 2020
  • रबिना बोहरा,

बागलुङ, ११ माघ । सरकारले कृषकलाई सस्तो ब्याजदरमा ऋण दिने विभिन्न कार्यक्रम ल्याएपनि स–साना किसानहरुले भने सहज रुपमा बैँकबाट ऋण पाउन सकिरहेका छैनन् ।

उचित ब्याजदरमा रकम नपाएका कारण किसानहरुले खेतीलाई विस्तार गरी व्यवसायिक बनाउन नसकेको गुनासो गर्दै आएका छन् ।

सरकारले किसानहरुलाई व्यवसायिकता तर्फ उन्मुख गराउन एवं कृिषमा आमूल परिवर्तन ल्याउनका लागि यस्ता कार्यक्रम सञ्चालन गरेको भएतापनि बैंकहरुले भने कृषकहरुलाई ऋण दिन आनाकानी गर्ने गर्छन् ।

बागलुङ नगरपालिका–८ सिगानाका किसान रेशम थापा गाउँकै अगुवा कृषक हुन् । कृषि समितिका संयोजक समेत रहेका थापाले गाउँमा सुन्तलासँगै तरकारी लगायतका खेती गर्दै आएका छन् ।

उनीसँग गाउँमा प्रर्याप्त जग्गा पनि छ । बर्षौंदेखि कृषि कर्म गर्दै आएका थापाले खेतीलाई विस्तार गरी व्यवसायिक बनाउने सोच राखेर कृषि ऋण लिन बागलुङ सदरमुकामस्थित बैंक धाउन थाले ।

सिगानाका कृिष संयोजक समेत रहेका थापासहित ५/७ जना किसानहरु नेपाल बैंक, राष्ट्रिय बाणिज्य बैंक लगायतका अन्य बैँकमा धाएपनि ऋण पाउन नसकेको गुनासो गरेका छन् ।

बैँकको नियम अनुसार आधार दर हेर्दा राष्ट्रिय बाणिज्य बैंकले कम ब्याजदरमा ऋण उपलब्ध गराउने देखेपछि ऋण माग गरेको भएपनि प्रक्रिया नपुगेको भन्दै फर्काएको थापाले बताए ।

बैंकहरुले ऋण दिदा सुरक्षित धितो खोज्ने गर्छन् । शहर बजारमा भएका जग्गाको धितो राख्दा एकदुई दिनमा काम हुने भएपनि गाउँमा कयौँ रोपनी जग्गा भएपनि मूल्याङकन कम हुने भएपछि प्रक्रिया नपुगेको भन्दै बैंकहरुले किसानलाई फर्काउने गरेका छन् ।

यसले गर्दा सरकारले कृषिमा आमूल परिवर्तन गर्ने सोचसहित ल्याएका कार्यक्रमहरु प्रभावकारी देखिएका छैनन् ।

‘कृषकका बजारमा घर घडेरी हुँदैन । दुःख गरेर चुनौती मोलेर काम गर्नुपर्ने बाध्यता छ । तर पनि यसको मूल्याङकन हुदैँन’, कृषक थापाले भने । बागलुङ नगरपालिका–१३ पैंयुपाटाका अर्का कृषक प्रकाश सुवेदीले बलेवा बहुउद्देश्यीय व्यवसायिक कृषि एण्ड पोल्ट्री फर्म सञ्चालन गरेका छन् ।

व्यवसायलाई बढाउने सोचका साथ कयौँ बैंकहरु धाएपनि सहज तरिकाले ऋण पाउन नसकेको गुनासो गरे । बैँकहरुले गाउँतिर लगानी नगर्ने र शहरी क्षेत्रमा मात्रै बढी लगानी गर्ने भएकाले पनि किसानहरु परम्परागत खेतीबाट माथि उठ्न नसकेको रखालले बताए ।

बैंकहरुले ऋण फिर्ता हुने ग्यारेण्टी नभएसम्म ऋण लगानी गर्दैनन् । सरकारको नीति अनुसार कृषि कर्जामा वीमा भएको हुने भएपनि किसानलाई बैँकहरुले सहज ढंगबाट कर्जा उपलब्ध नगराउने गरेको कृषकहरु बताउछन् ।

यता बैंकहरुले भने किसानहरुलाई कृषि कर्जा उपलब्ध गराउन आतुर रहेको बताउछन् । बिधिगत, नीति, नियम अनुसार प्रक्रिया पु¥याएर आएका किसानहरुलाई ऋण लगानी गर्न पछि नहट्ने बैँकका प्रमुखहरु बताउछन् ।

बागलुङ सदरमुकाममा रहेको सेञ्चुरी कमर्सियल बैंकका बागलुङ शाखा प्रबन्धक दीपक शर्माले बैंकले आनाकानी गरेको भनई प्रक्रिया पु¥याएर नआएको हुँदा यस्ता समस्या देखिने गरेको बताए ।

नेपाल सरकारले तोकेको र बजार मूल्यलाई समायोजन गरी बैँकले अध्ययन गरेपछि मात्रै लगानी गर्ने गरेको छ । कृषकले सबै कागजात पु¥याएर ल्याएमा १५ दिन भित्र कृषि कर्जा उपलब्ध गराउन सकिने शर्माले बताए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com