वडा कार्यालयको भवन निर्माणमा विवाद, ‘अपायक’ परेको भन्दै स्थानीय आक्रोसित



प्रकाशित मिति : Jan 25, 2020
  • यामराज कटुवाल,

दैलेख, ११ माघ । नारायण नगरपालिका वडा नम्बर ३ को वडा कार्यालयको भवन निर्माणमा विवाद भएको छ ।

वडाका सबैलाई पायक पर्ने स्थानमा नभई वडा अध्यक्षले बलमिच्याई गरी खुर्सानीबारीमा वडा कार्यलयको भवन निर्माण गर्न लागेको भन्दै स्थानीयले विरोध जनाएका हुन् ।

अहिले वडा कार्यालयको भवन बनाउन लागिएको स्थानमा कार्यालय भवन बनाइएको खण्डमा वडा नम्बर ३ को लागि करीब ४ किलोमिटर टाढा पर्ने भन्दै वडाका भूर्ति, ताराघाट, भैंसीखोर, देशिगाडे, वल्लो कालीमाटी, पल्लो कालीमाटी, सांखोला, प्युसेलगाएतका गाँउबाट सयौंको संख्यामा आएका स्थानीयले विरोध प्रर्दशन गरेका हुन् ।

स्थानीय तुल्छा बस्नेतले भनिन्, ‘कसैलाई खबर नगरी वडा कार्यालयको अपायक पर्ने स्थानमा भवन निर्माण गर्न लागेकाले वडा कार्यालय सबैको पायक पर्ने स्थानमा बनाउनुपर्ने हाम्रो माग हो । हामी कसैको विरोध गर्न आएका होइनौं ।’

त्यस्तै अर्का स्थानीय लोक बहादुर सार्कीले भने, ‘जनप्रतिनिधिले भोट माग्दा सबैलाई पायक पर्ने गरी कडा कार्यालय बनाउँछौ भन्ने आश्वसन दिए । तर, अहिले आएर वडा अध्यक्ष चन्द्र प्रसाद उपाध्यायले आफ्नो इच्छा अनुसार मात्रै काम गर्दै आएका छन् ।’

बीचको समयमा धेरै पटक पायक पर्ने स्थानमा वडा कार्यालयको भवन निर्माण गर्ने सहमति भएतापनि व्यक्तिगत स्वार्थको लागि वडाकै छेउमा भवन निर्माण गर्न लागिएको उनको भनाइ छ ।

गत विहीबार स्थानीयले हस्तक्षर संकलन गरी नारायण नगरपालिकाको कार्यालय र वडा नम्बर ३ को कार्यालयमा ध्यानाकर्षण–पत्र बुझाएका थिए । तर, त्यसको कुनै सुनुवाई नभएपछि स्थानीय प्रर्दशनमा उत्रिन बाध्य बनेका हुन् ।

आफूहरुको माग सम्बोधन नभएसम्म बिरोध जारी रहने स्थानीय लक्ष्मी प्रशाद न्यौपाले बताए । यता वडा अध्यक्ष उपाध्ययले भने समिति गठन गरी निर्माणको काम सुरु भई नसकेको बताए । सबैको पायक पर्ने जग्गा भेटिएमा सबैलाई भेला गरी भवन निर्माणको काम सुरु गरिने पनि बताए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com