११ माघ २०७६, शनिबार
  • राजन परियार

सिन्धुली, ११ माघ । सिन्धुलीको घ्याङलेख गाउँपालिकामा कार्यरत इन्जीनियर दिलिप कुमार शाहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासले घुससहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका डिएसपी मधुकुमार थापाका अनुसार शुक्रबार साँझ उपभोक्ता समितिसँग घुस रकम लिएको अभियोगमा शाहलाई पक्राउ गरिएको हो ।

घ्याङलेख गाउँपालिकामा विद्युत विस्तार (टिएलसी)को काम गरेको उपभोक्ता समितिसँग बार्गेनिङ गरी घुस नदिएसम्म उनले बिल फछ्र्यौट गर्न नमानेकाे बताइएकाे छ । उनलाई कमलामाई नगरपालिका–६ स्थीत श्रेष्ठ होटलबाट चेक र नगदमार्फत घुस लिँदै गर्दा पक्राउ गरिएको हो ।

पक्राउ परेका शाहकाे साथबाट अख्तियारको टोलीले नगद र चेक गरी २ लाख २६ हजार नियन्त्रणमा लिइएको डिएसपी थापाले बताए । कृषि विकास वैकको १ लाख २१ हजार र ७० हजारको दुई वटा चेक तथा ३५ हजार नगद उनकाे साथबाट नियन्त्रणमा लिइएको हाे ।

‘शाहका कारण लामो समयसम्म उपभोक्ताहरुले पैसा पाउन नसकेपछि उनी विरुद्ध अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा उनलाई चेक र नगद लिँदै गर्दा पक्राउ गरिएको हाे,’ थापाले भने । उनीसँग बयान लिने कार्य भइरहेको छ ।

शाहलाई दुई वर्षअघि घ्याङलेख गाउँपालिकाले करारमा नियुक्त गरिरएको थियो । गाउँपालिकाका अध्यक्ष जगतबहादुर भोलनले काम नरोक्न पटक–पटक आग्रह गर्दा समेत शाहले अटेर गरेका थिए ।

तीन महिनाअघि नै विद्युतको निर्माण कार्य सम्पन्न गरी उपभोक्ता समितिले घरघरमा बत्ती बालिसके पनि इन्जीनियरले स्टिमेट बनाउन नमान्दा बिल भुक्तानीमा ढिलाइ भएको थियो । मागेजति पैसा नदिएसम्म बिल भुक्तानीका लागि स्टिमेट बनाउन नमानेपछि इन्जीनियरसँग आजित उपभोक्ताले अख्तियारमा उजुरी गरेको हुन सक्ने डिएसपी थापाले बताए ।

LIVE TV