११ माघ २०७६, शनिबार

एजेन्सी, ११ माघ । अमेरिकी रक्षा मन्त्रालयको मुख्यालय पेन्टागनले दुई हप्ताअघि इराकस्थित अमेरिकी हवाई सैन्यआधारमा इरानले आक्रमण गर्दा ३४ अमेरिकी सैनिकलाई ब्रेन इन्जुरी (दिमागमै चोट) भएको बताएको छ ।

तीमध्ये आधाजसो भर्खर आफ्नो सैन्य ड्युटीमा फर्केको सेना रहेकाे शुक्रबार राति पेन्टागनले बताएको हो। पेन्टागनको प्रमुख प्रवक्ता जोनाथन हफम्यानले घाइते भएकामध्ये १७ को अझैपनि स्वास्थ्य उपचार भइरहेको बताएका छन् ।

आक्रमणलगत्तै पत्रकार सम्मेलन गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने जनवरी ८ का दिन भएको सो आक्रमणमा इराकस्थित कुनैपनि अमेरिकी सैनिकलाई केहि चोटपटक नलागेको बताएका थिए ।

सेनाले त्यसको प्रभाव तत्काल नदेखिए पनि केहि पछि मात्र थाह हुन गएको बताएको छ। इरानका सबैभन्दा शक्तिशाली सैनिक जर्नेल कसिम सुलेमानीलाई अमेरिकाले मारेपछि त्यसको बदलामा इरानीले इराकस्थित अमेरिकी सैन्यशिविरमा आक्रमण गरेको थियो ।

LIVE TV