वैदिक धर्मशास्त्रहरूमा नारीको स्थान : मातृशक्तिविना पुरुष कसरी रहला ?



प्रकाशित मिति : Jan 25, 2020
  • साक्षी गौतम

जयांपतयो न विभागें दृश्यते ।
पाणी ग्रहणादि सहत्वं कर्मसु तथा पुण्य फलेसु द्रव्यपरिग्रहेषु चः ।। – आपस्तम्भ धर्मसूत्र

अर्थात्, श्रीमान् र श्रीमती दुई भिन्न स्वरुपमा रहे पनि यिनलाई भेद दृष्टिले हेर्नु हुँदैन । जोसँग जन्माउने गुण रहन्छ, त्यो जया हो । श्रीमानमा जन्मिने गुण मात्र छ, तर जन्माउने गुण छैन ।

धर्मसूत्रको यो सुक्तिलाई हेर्दा विवाहपछि पति र पत्नीका बीचमा भेद हुँदैन भन्ने बुझिन्छ । र, हाम्रा वैदिक धर्मशास्त्रहरू नारी कमजोर र पुरुष शक्तिशाली हुन्छन् भन्ने कुरा देखाउने खालका देखिँदैनन् । ती शास्त्रहरू त ‘विवाह भनेको पति–पत्नी दुवै समान अस्तित्वमा ल्याउने औपचारिक कर्म हो’ भन्ने बुझाउछन् ।

उहीँ धर्मसूत्रको दोस्राे हरफले भनेको छ–
पाणी ग्रहण भएपछि दुवै (पति–पत्नी) एक भएका हुन्छन् । पुण्यकर्म र द्रव्य सङ्गहमा दुवैको समानाधिकार रहन्छ अर्थात् व्यावहारिक कामहरूमा दुवैले सहयोगी भएर गर्नुपर्छ । यसरी नै व्यवहारमा सहयोगी पात्र बन्दा यी दुईको बीचको सम्बन्ध पनि अझै गाढा हुँदै जान्छ र एक–अर्कालाई बुझ्न पनि थाल्छन् । यसै कारणले गर्दा पूरै जीवन पति–पत्नीमा उस्तै माया र व्यावहारिकताको बोध रहिरहन्छ, सम्बन्ध पनि अटुट बन्दै जान्छ ।

पाणी ग्रहण भनेको एकले अर्काको हात समाएर गरिने विधिवत वैवाहिक संस्कार हो । त्यसपछि सबै कामहरूमा दुवैको सम्मान दयित्व हुन्छ भन्ने धर्मशास्त्रको मत छ ।

विवाह अर्थात् ‘सहयात्रा’

माथि उल्लिखित सुक्तिलाई हेर्दा विवाह समान अस्तित्वका लागि व्यवहार चलाउने उद्देश्यले गरिने महत्वपूर्ण ‘सहयात्रा’ हो भन्ने बुझिन्छ ।

विवाहपछि एक्लै कर्म गर्नु उपयोगी मानिएन । धन कमाउने, सद्कर्म गर्ने, दानपुण्य गर्ने कुरामा पति–पत्नी दुवै मिलेर वा आपसमा सरसल्लाह र सम्मति गरेर गर्नुपर्छ ।

यहाँ पतिले जे काम गर्छन्, पत्नीले पनि त्यै गर्नुपर्छ भन्ने छैन । तर एक–आपसमा परिपुरक भने हुनुपर्छ भन्ने नै बुझिन्छ । यसरी हेर्दा हमीकहाँ नारी अधिकार छैन भन्ने कुरा सुनिरहँदा हामीहरू कतै न कतै आफ्ना मौलिक शास्त्रीय ज्ञानबाट विमुख हुँदै गएको स्पष्ट हुन्छ । हाम्रा सिद्धान्तअनुसार हामीले काम नगरेको देखिन्छ । कहीँ न कहीँ हामीले गल्ती गर्यौँ तर दोष चैँ धर्मशास्त्रलाई लगायौँ भन्ने कुरा स्पष्ट हुन्छ ।

नारी–पुरुष समान

विशुद्ध पुर्वीय धर्मशास्त्रहरूले नारीको स्थान पुरुषसरह ‘समान’ राखेको देखिन्छ । नारी र पुरुषबीच एकता हुनुपर्छ । एकता नहुँदा नै घर–व्यवहार बिग्रिने अवस्था आउछ । यसै मान्यताअनुसार ती धर्मशास्त्रले दुवैलाई एक–अर्काका पूरक मानेको देखिन्छ ।

घरमा यदि पति–पत्नीबीच एकता कायम हुन सकेन भने अहिलेको समाजमा मिल्नु त कहाँ हो कहाँ, ‘डिभोर्स’ र अर्को बिहेको परिकल्पना गर्नतिर मानिसहरु लाग्ने गरेका छन् । सम्बन्धविच्छेद गर्दैमा वा अर्को बिहे गर्दैमा सब ठीक हुन्छ भन्ने एकथरीको सोचाइ पाइन्छ । र, सप्रिँदै गएको घर–व्यवहार पनि धैर्यताको कमीले क्षणभरमै भताभुंग हुनजान्छ ।

शास्त्रले हेरेअनुसार नारी, पुरुष, नपुंसक भन्ने कुरा शरीरले मात्र भेद हो । तर आत्मा भने एकै हो । तात्विक दृष्टिले यी सबै एकै तत्त्व हुन् ।

चौघेराभन्दा बाहिर

कसैलाई पनि चुलो–चौकाका ‘चौघेरा’ तोकेर त्यसभित्र मात्रै थुन्नु हुँदैन । समाजका सबै क्षेत्रमा पुरुषसरह नारीको पनि समान हक छ । चुला–चौकी मात्र नभएर बाहिरी संसार पनि चलाउन सक्छे नारीले । यसको उदाहरण हाम्रै समाजमा देख्न पनि सक्छौँ । नारीको पनि पुरुषको जत्ति नै क्षमता हुन्छ ।

कुनै पनि स्थानमा भनाैँ– शैक्षिक क्षेत्र, कार्यालय, सरकारी सेवा, राजनीति, व्यापार वा कानुन व्यवसायजस्ता जुनसुकै उच्च पदहरूमा नारी पुग्न सक्छन् । मात्रै उनीहरुलाई अवसर दिनुपर्छ ।

यसैगरी हक र अधिकारका कुरा गरेर समानता र असमानताका विषयमा थुप्रै प्रश्न उठाइन्छन् । नारी समानताको विषयलाई पूर्वीय दर्शन र धर्मशास्त्रहरूको दृष्टिबाट हेर्दा त्यहाँभित्र आएका कुराहरूले नारी अस्तित्व र समानता आजको भन्दा धेरै फराकिलो, सुदृढ र व्यवस्थित प्राचीनकालदेखि नै रहेको देखिन्छ ।

यस विषयमा वेदलाई आधार बनाएर हाम्रो समाज अगाडि बढ्न सकेको भए नेपाली समाजमा आजको यो कठिन परिस्थितिको उत्पत्ति हुने नै थिएन । आज जसरी नारीमा प्रश्न उठाइएको हामीले देख्छौँ, त्यसरी भेदमा प्रश्न उठ्ने थिएन । वैदिक कालको कुरा गर्दा नारी र पुरुषका लागि कुनै क्षेत्र असमान थिएनन् । त्यसबेला ऋषिहरूसमान ऋषिकाहरूको पनि अधिकार थियो ।

उपनिषदमा के छ ?

अर्को मुख्य कुरा, वेदको निष्कर्ष भनेका उपनिषदहरू हुन् । उपनिषेदमा नारी समानताको अवस्था के छ त ? उपनिषदमा उल्लिखित कुरा पढ्दा के देखिन्छ भने प्राकृतिक दृष्टिले नारी र पुरुषको शारीरिक बनावट फरक छ । तर आत्मिक दृष्टिले दुवै एकै हुन् । यसरी नै व्यावहारिक रुपमा नारी र पुरुष फरक होइनन्, एकै शरीरका दुई भाग हुन् । यो कुरा वेद, पुराणहरूले भनेका छन् ।

अर्धनारी नरवपुः प्रचण्डोऽति शरीरवान् ।
विभजात्मानमित्युक्त्वा तं ब्रह्मान्तर्दधेततः ।। – विष्णुपुराण

यस श्लोकको तात्पर्य हो– सृष्टिको सुरुमा आधा शरीर पुरुष र आधा शरीर स्त्री भएर रुद्र देखिए ।
सर्वृं खल्विदं ब्रह्मः अर्थात् यो ब्रह्माण्ड रहस्यमय छ भन्ने अध्यात्म दर्शनको निष्कर्ष हो । यसको मूल शक्ति ब्रह्म हो र त्यही शक्तिबाट नर–नारीको उत्पत्ति भएको हो । त्यसैले को सानो, को ठूलो भन्ने भेद छैन । तर समयक्रममा चलाख पुरुषहरु आफैँले महिलालाई कमजोर बनाउँदै ल्याए, विभिन्न असान व्यवस्था गर्दै आए । जस कारणबाट महिला आफैँले आफूलाई अरुसँग दाज्न थालिन् । पछि पर्दै आइन् ।

संसारका सबै कुरा एक–आपसमा फरक भए पनि अस्तित्वका दृष्टिले सबै समान छन् भन्ने चाहिँ हामीले बिर्सनु हुुँदैन । जसरी अनेक रङका गाई भए पनि सबैले दिने दूध सेतो हुन्छ, त्यसरी नै शरीर र स्वभाव अनेक भए पनि सबैमा एउटै चेतनस्वरुप परमात्मा हुन्छ ।

नारी र नर बाहिरबाट हेर्दा फरक देखिए पनि गुण र बुद्धि, विवेक र आत्मा एकै छन् ।

भन्ने हो भने मासिक धर्म, गर्भधारण, शारीरिक बनावट इत्यादि कारणले गर्दा महिलाको शरीर अलि कमजोर हुन्छ । यसको अर्थ नारीहरू केही गर्न नसक्ने भन्ने होइन । यही शरीरका केही सम्वेदनशील अङ्ग र कमजोरीको मात्र फाइदा उठाएर पुरुषले ‘पुरुषार्थ’ देखाउनु अहिलेको मूल समस्या हो ।

मातृशक्तिविना गृहस्थी अधुरो

गर्भधारण गर्ने शक्ति र रजस्वलाको पीडा सहन सक्ने शक्ति पनि सामान्य होइन । प्रकृतिले यो शक्ति केवल नारीलाई मात्र दिएको छ । त्यसैले पत्नीबिना पति एक्लैले गृहस्थ जीवन निर्वाह गर्न कठिन हुन्छ ।

एक चक्र रथोयुदवदेक पक्ष यथा खगः
उभयोऽनिनरस्तद्वदयोग्य सर्वकर्मसुः ।

अर्थात्, जसरी आकाशमा एउटा पखेटाले मात्रै चरा उड्न सक्दैन, त्यसरी नै व्यवहारमा नारीले वा पुरुष एकले मात्र गृहस्थ जीवन चलाउन सक्दैन । दुवैको समान सहभागिता हुनैपर्छ ।

यस श्लोकले पनि नारीपुरुष समानताको बारेमा नै उजागर गर्न खोजेको छ । यसको तात्पर्य घरपरिवार चलाउन दुवैको समान सहभागिता आवश्यक रहेको र यही कारणले धर्मशास्त्रहरूको समाजका सबै काम नारीको सहयोगविना सम्भव छैन भन्ने नै हो ।

फेरि हेरौँ :
नास्ती स्त्रीणां पृथग्यज्ञो नव्रतम् नाप्नुयोषितम् ।
यसको अर्थ हुन्छ– स्त्रीविना पुरुषले गरेको यज्ञ र व्रत पूर्ण हँुदैन । यस श्लोकले पनि नारीपुरुषलाई अलग बनाउन खोजेको छैन । बरु दुवैलाई हरेक काममा सँगै राखेर हेरेको छ ।

यसरी नै निर्णयामृतले पनि भनेको छ :
भार्या पत्युर्व्रतं कुर्यात् भार्यायांश्च पतिव्रतम् । – यस श्लोकले पनि एक अर्कालाई समानरुपले सेवा गर्नुपर्छ भन्ने तात्पर्य बोकेको छ ।

नारी र पुरुष भनेको बुद्धि र सामथ्र्यको प्रतिनिधि पात्र हुन् भनेर अर्को श्लोकमा प्रस्तुत छ ः
विद्या समस्ता तव देवी भेदा स्त्रीयाः समस्ताः सकला जगत्सु ।। – देवीभागवत चण्डी

हाम्रा दर्शनशास्त्रमा यति धेरै महत्वपूर्ण कुराहरू छन् । तर पनि तथाकथित विद्वानहरुले यी कुरा उदाहरणमा ल्याउदैनन्, न व्यवाहारमा नै उतार्छन् । ल्याइहाले पनि नकारात्मक पाराले टिपिन्छ, अर्थ बंग्याइन्छ । लिङ्गभेदमा पनि यही कुराको समस्या छ । सबै पश्चिमी उदाहरणलाई हेरेर आफ्नो धर्मशास्त्रलाई औचित्यविहीन बनाइँदैछन् । सुधार गरेर हिँड्नुमा भन्दा विरोध गरेर ठूलो भइन्छ भन्ने भ्रममा छन् मानिसहरू ।

निचोड

अहिले हामी जति–जति सभ्यताको शिखरतिर जाँदैछा, त्यति नै हामीलाई आफ्नो पहिचान दिने सभ्यताको यस्तो मूलजरो पनि भुल्दै गइरहेका छौँ । बरु बाहिरी संस्कृतिको खुलेआम अनुशरण गरिरहेका छौँ, आफ्ना मूल स्रोतहरू बिर्सिन थाल्याैँ ।

सारमा भन्नुपर्दा, आज नारी र पुरुषमा जुन भेद देखिएको छ, त्यो विशुद्ध पूवीर्य धर्मशास्त्रहरुमा छैन । वेदअनुसार पनि नारी र पुरुषमा केही भिन्नता छैन । यी एक अर्काका पुरक मात्र हुन् । आफ्नो–आफ्नो विशिष्ट शक्तिका साथ एकले अर्काको सहयोगी पात्र बन्नुपर्छ । थुप्रै सूत्रहरूदरा यस कुराको पुष्टि भइसकेको छ ।

अहिले र पहिलेको तुलनात्मक ढङ्गले भन्नुपर्दा पनि नारी समानताको विषय अझ जटिल हुँदै गइरहेको छ । कमजोरी कहाँनेर भयो, कसरी भयो यसको उत्तर खोज्नु छ बरु । बलात्कारजस्तो जघन्य अपराध बढ्दै गएर समाजमा असुरक्षा र विकृति झाँगिएको छ । नारीलाई नै केन्द्रित गरेर जघन्य अपराधहरु हुने गरेको समाजमा देख्न सकिन्छ । के यो सब नारीलाई कमजोर ठानेर हो कि अज्ञानताले हो ? या संस्कृतिको भ्रष्टीकरण हुँदै गएर हो ? ‘प्रेम’ गर्छु भन्नेले अझ ‘एसिड’ छ्याप्नेसम्मको हर्कत कसरी गर्न सक्छ ?

समाजमा घटिरहेका यी यावत घटनाले महिलालाई नै डर–त्रासमा पारेर पुरुषार्थ देखाउने काम भइरहेको बुझ्न सकिन्छ । यसले जति नै पढे–लेखेको र आफु स्वतन्त्र छु भन्ने नारीलाई पनि त्रस्त बनाइरहेकै छ भने अर्कोतिर समाजको मनोविज्ञानमा असर परिरहेको छ ।

सायद यस्तै हिंसाका कुरालाई मनन गरी पूर्वीय धर्मशास्त्रहरूले नारी समाजकी गहना र प्रतिष्ठा भएकीले हरक्षण नारीको सुरक्षा आवस्यक मानेको होला । शास्त्रमा लेखिएको छ :

स्वां प्रसुतिं चरित्रं च कुलमात्मानदेव च ।
स्वं च धर्म प्रयत्नेन जायां रक्षन्हि रक्षति ।।

अर्थात्, आफ्नी स्त्रीको रक्षा गर्ने पुरुषले आफ्ना सन्तानको, आफ्नो सदाचारको, आफ्नो कुलको र आफ्नो धर्मको पनि रक्षा गर्छ । यहाँ उल्टो– घरपरिवार र आफ्नाबाटै नारीमाथि हिंसा र अत्याचार भइरहेका छन् । नारीले अलिकति ढिलो घर पुग्दा र एक्लै आफूले चाहेजस्तो भनेजस्तो काम कर्तव्य गर्न खोज्दा पनि धेरै कुरा सोच्नुपर्ने अवस्था । यो त निक्कै लज्जास्पद कुरा त हो नै पवित्र धर्मशास्त्रीय मान्यताविपरीत पनि हो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com