चोरबाटो हुँदै प्याजको आयात बढेपछि मूल्य घट्यो !



प्रकाशित मिति : Jan 24, 2020
  • इर्फान अलि

वीरगञ्ज, १० माघ । भारतबाट चोरबाटो हुदै प्याजको आयात बढ्न थालेपछि वीरगंजमा अहिले प्याजको मूल्य घट्न थालेको छ ।

प्रतिकिलो ३ सय ५० रुपैंयासम्म पुगेको प्याजको खुद्रा मूल्य अहिले प्रतिकिलो १ सय १० रुपैंयामा बिक्री भइरहेको छ ।

गत भदौ महिनादेखि महँगिदै प्रतिकिलो ३ सय ५० रुपैंयासम्म पुगेको प्याज अहिले प्रतिकिलो १ सय १० रुपैंयामा बिरगञ्जका उपोभोक्ताले खरिद गरिरहेका छन् ।

भारतबाट चोरीको बाटो हुदै नेपाल भित्रिन थालेपछि प्याजको मूल्य एकाएक सस्तिएको वीरगञ्ज तरकारी तथा फलफूल व्यवसायी सघं पर्साले जनाएको छ ।

भारतको महाराष्ट्रस्थित नासिक र मध्यप्रदेशको इन्दौरबाट नेपाल प्याज आउने गरेको छ । वीरगञ्ज नाकाबाट अहिले दैनिक २० मेट्रिकटन प्याज भित्रिरहेको छ ।

यसरी भित्रिएको प्याज वीरगञ्जबाट काठमाडौं, नारायणगढ लगायत पोखरासम्म पुग्ने गरेको छ । वीरगञ्ज लगायत जनकपुर, विराटनगर, काकडभिट्टा, भैरहवा, नेपालगञ्ज, धनगढी लगायतका नाकाहरूबाट समेत चोरीको बाटो हुदै प्याज भित्रिने गरेको संघले जनाएको छ । जसकारण पर्सामा मात्र हैन मुलुक भरि नै प्याज सस्तिएको अध्यक्ष गुप्ताको भनाइ छ ।

यसरी मुलुकका विभिन्न नाकाहरूबाट चोरबाटो हुँदै प्याज नेपाल भित्रिने र भन्सार गर्ने गरेको समेत गुप्ताले बताएका छन् । भारतले असारमा आएको बाढीबाट प्याजखेती प्रभावित भएपछि नेपाल लगायत सार्क राष्ट्रमा गर्दै आएको निर्यातलाई बन्द गरेको थियो ।

त्यसैबेला देखि बन्द रहेको प्याजको आयात अहिले सहज हुँदा समेत भारतले निर्यात भने खोलेको छैन । भारतबाट वीरगञ्जसम्म चोरबाटो हुदै प्याज भित्रिएको कारण अन्यत्र भन्दा वीरगञ्जमा भने प्याजको मूल्य केही सस्तो रहेको गुप्ताले बताए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com