उखुको भुक्तानी दिन थालेपछि सर्लाहीको इन्दू मिलमा किसान आकर्षित



प्रकाशित मिति : Jan 24, 2020
  • कृष्ण थपलिया

सर्लाही, १० माघ । उखु किसानलाई वक्यौता रकम नै नदिएर सम्पर्कविहीन भएका चिनी मिलको सूची लामो छ । तर, सर्लाहीको इन्दुशंकर चिनी उद्योगले भने निरन्तर किसानको पसिनाको कमाई भुक्तान गरिरहेको छ । उद्योगबाट निरन्तर भुक्तानी भएपछि अन्य जिल्लाका किसान समेत आकर्षित हुन थालेका छन् ।

आफ्नो पसिनाको कमाई नपाएर किसानले १० दिन काठमाडौंमा रात गुजारे । सरकारले आन्दोलन स्थगित गर्न पाँच बुँदे सम्झौता समेत गर्यो । तर, किसानले रकम पाएनन् । तर, त्यही उद्योगीका बीच अहिले इन्दुशंकर चिनी उद्योग भने सबै किसानको लागि भगवान बनिरहेको छ ।

पहिलो चरणमा २१ करोड ८० लाख भुक्तानी गरेर अहिलेको अवस्थामा मिलले किसानलाई केही राहत दिएको छ ।

पुस ११ गतेबाट उखु क्रसिङ सुरु गरेको इन्दुशंकरले हाल सम्म ८ लाख १० हजार कुन्टल उखु क्रसिङ समेत गरेको छ । उद्योगले समयमै भुक्तानी दिने गरेकै कारण सर्लाही सहित आसपासका जिल्ला धनुषा महोत्तरी,रौतहट र बाराका किसान समेत मिलमा आकर्षित भएका छन् ।

भगिरथ प्रयास गर्दा पनि लाखौं रकम पाउन नसकिरहेका किसानका लागि इन्दुशंकर मिलको यो प्रयास सराहनीय छ । तर, पीडित किसान सरकारले दिने भनेको अनुदान समेत नपाएकोमा भने अझै दुःखी छन् ।

सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने जिल्ला हो । यहाँ २१ हजार हेक्टर भन्दा बढी क्षेत्रफलमा उखु खेती हुने गरेको छ । तर, मिलले रकम उपलब्ध नगराउँदा उनीहरुको दैनिक गुजारा चलाउन पनि धौधौ परिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com