१० माघ २०७६, शुक्रबार

काठमाडौं, १० माघ । शहीद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङदीले साँघुरो जित निकालेको छ । शुक्रबार भएको खेलमा मनाङले पुछारको क्लब सरस्वतीलाई १\० गोल अन्तरले पराजित गरेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङको जितमा विमल रानाले निर्णायक गोल गरे । खेलको ४६ औं मिनेटमा विमलले गरेको गोल मनाङको जितमा निर्णायक बन्यो । त्यसअघि मनाङले पहिलो हाफमा गोल गरेपनि पोस्टको जाली प्वाल परेको कारण गोलको मान्यता पाएँन ।

जीतसँगै मनाङले शीर्ष स्थानको मछिन्द्र फुटबल क्लबसँग र तेस्रो स्थानको त्रिभुवन आर्मी क्लबसँग अंक बराबरी गरेको छ ।

यस्तै, शुक्रबार भएको दोश्रो खेलमा च्यासलले ब्रिगेड ब्वाईजलाई १÷०ले पराजित गरेको छ । च्यासलको जितमा कप्तान सन्तोष साहुखलले निर्णायक गोल गरे ।

सन्तोषले थप गरिएको इन्जुरी समयमा गोल गर्दै च्यासललाई महत्वपूर्ण तीन अंक दिलाएका हुन् । यस अघि पहिलो हाफमा दुवै टोलीले गोलको अवसर चुकाएका थिए । जितसँगै च्यासल ८ खेलमा ९ अंक जोडेर लिगको आठौं स्थानमा उक्लिएको छ । ब्रिगेड ८ खेलमा ८ अंकसहित दशौँ स्थानमा छ ।

LIVE TV