१० माघ २०७६, शुक्रबार
  • बालबिक्रम कार्की

रौतहट, १० माघ । रौतहटको चन्द्रपुर नगरपालिकामा जारी चन्द्रपुर उप–मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता २०७६ अन्तर्गत शुक्रबार भएको पहिलो दिनको खेलमा बाह्रविसे नगरपालिका तथा चन्द्रपुर नगरपालिका विजयी भएका छन् ।

चन्द्रपुर नगरपालिका ६ स्थित शेरबहादुर दर्लामी स्मृति हातेमालो खेल मैदानमा भएको पहिलो खेलमा बाह्रविसे नगरपालिका सिन्धुपाल्चोकले विदुर नगरपालिका नुवाकोटलाई शून्यको विरुद्ध ४ गोलले पराजित गर्दै विजयी भएको हो । खेलको सुरुवातदेखि नै निरन्तर दवाव बनाउन सफल बाह्रविसेका तर्फबाट खेलको पहिलो हाफको २३ औँ मिनेटमा सुष्मा तामाङ्गले गोल गर्दै अग्रता दिलाएकी थिइन ।

पहिलो हाफकै २७ औँ मिनेटमा पार्वती घलेको गोलले बाह्रविसेले आफ्नो अग्रतालाई दोब्बर पारेको थियो । दोस्रो हाफमा आक्रामक रुपमा प्रस्तुत भएको बाह्रविसेले दोस्रो हाफको ९ मिनेटमा अनु राई र १४ औँ पार्वती घलेको गोल मार्फत खेललाई ४–० को सहज जित निकाल्न सफल भयो ।

गोल गर्ने केही सहज अवसरहरु सदुपयोग गर्न नसक्दा बाह्रविसेले अग्रता फराकिलो पार्ने अवसरहरु गुमाएको थियो । यसैगरी शुक्रबार नै सम्पन्न दोस्रो खेलमा घरेलु टोली चन्द्रपुर नगरपालिका रौतहटले चौदण्डी नगरपालिका उदयपुरलाई ३–० ले पराजित गरेको छ । खेलको पहिलो हाफ बराबरमा सकिएको सो खेलमा चन्द्रपुर नगरपालिकाले दोस्रो हाफमा उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।

चन्द्रपुरको तर्फबाट दोस्रो हाफको ३ मिनेटमा दिलकुमारी राना मगरले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन । त्यसको २ मिनेट पछि मनिषा राउतको गोल मार्फत चन्द्रपुरले अग्रता दोब्बर पारेकोे थियो । दोस्रो गोल गरेको २ मिनेटपछि पुनःदिलकुमारी राना मगरले गोल गर्दै आफ्नो टिमलाई सहज जित दिलाएकी थिइन ।

त्यसपछि पनि निरन्तर आक्रमणमा उत्रिएको चन्द्रपुरले गोल भने गर्न सकेन् । प्रतियोगिता १८ गतेसम्म चल्ने छ । देशभरका उत्कृष्ट ८ नगरपालिकाले सहभागिता जनाएको प्रतियोगितामा बिहान ११ः४५ र दिउसो २ः३० गरी दैनिक २ वटा खेल हुनेछ ।

माघ १६ गते दुई वटा सेमिफाईनल खेल हुने र १८ गते फाईनल खेल हुने आयोजक रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान दलार्मीले जानकारी दिनुभयो ।

प्रतियोगितामा समुह क अन्तर्गत बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोक, चन्द्रपुर नगरपालिका रौतहट, बिदुर नगरपालिका नुवाकोट र चौदण्डीगढी नगरपालिका उदयपुर रहेका छन् । त्यस्तै समुह ख अन्तर्गत वालिङ्ग नगरपालिका स्याङ्जा, बाँसगढी नगरपालिका बर्दिया, बिरेन्द्रनगर नगरपालिका सुर्खेत, बिराटनगर महानगरपालिका मोरङ्ग रहेका छन् ।

रौतहट जिल्ला फुटबल संघको आयोजना, चन्द्रपुर नगरपालिका रौतहटको संरक्षण तथा सहयोग एवम् अखिल नेपाल फुटबल संघ ( एन्फा) को समन्वय तथा व्यबस्थापनमा प्रतियोगिता सञ्चालन भएको हो ।

यस प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडीलाई स्कुटरबाट पुरस्कृत गरिने भएको छ भने प्रतियोगितामा प्रथम हुने टिमलाई ३ लाख र दोस्रो हुने टिमलाई १ लाख ५० हजार पाउने छन् । त्यसैगरी सेमीफाईनल पुग्ने दुई टिमलाई जनही ५०÷५० हजार नगद पुरस्कार रहेको आयोजकले जनाइएको छ ।

प्रतियोगिताको प्रत्येक खेलमा ‘वुमन अफदी म्याच’लाई नगद ५ हजार र कप ,उत्कृष्ट पाँच विधाका खेलाडीहरुलाई जनही १५ हजारका दरले पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगिताको उद्घाटन विकास तथा प्रविधि समितिका सभापति कल्याणी खड्काले गर्नुभएको थियो ।

LIVE TV