१० माघ २०७६, शुक्रबार

काठमाडौं, माघ १० गते । एन्जल्स हर्ट स्कुलको आयोजनामा सातौं एन्जल्स हर्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।

प्रतियोगितामा २० छात्र टिमको सहभागिता रहने एन्जल्स हर्टका प्रिन्सिपल धनबहादुर पुनले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

सहभागी टिममा एन्जल्स हर्ट ‘ए’ र ‘बी’, गोल्डेन पिक, श्रृजना ज्ञान सागर, लालीगुराँस, इबीए, एनइए, एचएचसीए, नेपाल मोडेल, सेब, भ्याली पब्लिक, नवोदित, ग्रिनफिल्ड, हर्टलाइन, ओडिसी, फ्लोरोसेन्ट, नेसनल युनाइटेड, काठमाडौं भ्याली, ग्रिनल्यान्ड र बीएनए रहेका छन् ।

आठ कक्षामा अध्ययनरत छात्रहरुले मात्र प्रतियोगितामा सहभागी हुन पाउने प्रावधान छ । जुनियर र सिनियरमा सहभागिताको कम अवसर पाउने छात्रलाई लक्षित गरी पहिलो पटक प्रतियोगिता आयोजना गर्न लागिएको प्रिन्सिपल पुनले बताए । विगतका संस्करणमा जुनियर र सिनियर ब्वाइजको प्रतियोगिता हुने गरेको थियो ।

प्रतियोगिता सञ्चालन गर्न करिब ५ लाख रुपैयाँ खर्च हुने एन्जल्स हर्टका संस्थापक यमबहादुर छन्त्यालले जानकारी दिए ।

तार्केश्वर नगरपालिका वडा नं. १० का अध्यक्ष अमृत थापाले विद्यालयस्तरको प्रतियोगिताले प्रतिभावान खेलाडीको पहिचान गर्न मद्दत पुग्ने धारणा व्यक्त गर्दै बास्केटबलको विकासमा एन्जल्स हर्टको कार्य प्रशंसनीय रहेको बताए । माघ २० गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु मनमैजुस्थित आयोजकको आफ्नै कोर्ट हुने छ ।

LIVE TV