१० माघ २०७६, शुक्रबार
  • देवराज पन्त

मकवानपुर, १० माघ । नेपाल आजसम्म कुनैपनि मुलुकको अधीनमा वा औपनिवेशमा नपरेको मुलुक हो । तत्कालीन समयमा यो भूभागलाई विदेशी सेनाको आँखा नलागेको पनि होईन । तर ती सबैलाई परास्त गर्दै मुलुक जोगिएको थियो ।

नेपाल एकीकरणको दौरान पृथ्वीनारायण शाहले विक्रम सम्वत १८१९ भदौ ९ गतेका दिन मकवानपुरगढी र हरिहरपुरगढीमा इस्वी सम्वत १७६२ अक्टोबर ४ का दिन विजय हासिल गरेपछि मकवानपुर राज्यको अन्त भएको थियो । कब्जा गरेपनि १८१९ माघ १० गते मकवानपुर गढीमा गुरगिन खाँको मुगल सेनासँग युद्ध गर्नु परेको थियो । यो गढी नेपालले पहिलो पटक विदेशी सेनासँग युद्ध गरी विजय हासिल गरेको स्थान हो ।

करीब २५ सय विदेशी सेनाले हमला गर्दा मुगल सेनाका १७ सय र नेपाली फौज तर्फ ३० जनाले ज्यान गुमाएका थिए । यसरी विदेशीलाई घुडा टेकाउन सफल ऐतिहासिक स्थल आफैं संरक्षणको अभावमा दिनदिनै जीर्ण बन्दै गएको छ ।

तत्कालीन माओवादी युद्ध अघिसम्म यस स्थलमा सेनाको टुकडी रहेको स्थानीयहरु बताउँछन् । स्थानीयका अनुसार केही दशक अघि सम्म यस दरबारमा छानो समेत रहेको उनीहरुको भनाई रहेको छ । तर आज यस गढीका ऐतिहासिक सामग्री ढुङ्गा लगायतका सामग्री जताततै छरिएर रहेका छन् । त्यस बेला नेपाली फौजले घरेलु हतियार सहित युद्ध गरेका थिए ।

नेपाली फौजले प्रयोग गरेका हतियार

यसरी विदेशी सेनालाई परास्त गरेको खुशीयालीमा आज माघ १० गते २ सय ५७ औं विजय उत्सवको गढीमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले नेपाली राष्ट्रिय झण्डा झण्डोत्तलन गर्दै शुरु गरेका छन् ।

प्रदेश सरकार, स्थानीय गढी गाउँपालिकाले आफ्नो तर्फबाट ऐतिहासिक संरचना जोगाउन लागि परेको सो गाउँपालिका अध्यक्ष विदुर हुमागाईले दाबी गरेका छन् । उनका अनुसार १ सय बर्ष अघिको संरचनालाई पुरातत्व विभागले हेर्ने हुनाले यसका संरचनालाई केही गर्न नसकिएको अध्यक्ष हुमागाईको भनाई रहेको छ ।

गुरगिन खाँको फौजले प्रयोग गरेका हतियार

तर वर्षमा एकदिन मात्रै विजय उत्सव मनाउने तर अन्य दिन यसको संरक्षण र सम्बद्र्धनमा नलाग्ने हो भने नेपालको ऐतिहासिक स्थल नै हराएर जाने प्राय निश्चित छ । मकवानपुरगढी क्षेत्र वास्तुशास्त्र अनुसार निर्माण गरिएको थियो । गढी क्षेत्रको दक्षिण तर्फ पहिरोको जोखिममा दिनप्रतिदिन पर्दै गएको पनि छ ।

सो बेला विदेशी फौजलाई युद्धमा पराजय गराएको फौज नै नेपाली सेनाको हालको पुरानो गोरख गणका रुपमा रहेको छ ।

LIVE TV