१० माघ २०७६, शुक्रबार
  • दान बहादुर बुढा

मुगु, १० माघ । मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नम्बर १४ बाम गाँउमा रहेको स्वार्गीय राजा वीरेन्द्रको नाममा रहेको शिव र पार्वतीको मन्दिरको दैनिक पूजापाठ बन्द भएको छ । मन्दिरका पूजारी बृद्ध हुनुका साथै रोगले थला परेपछि पूजापाठ बन्द भएको हो ।

बिसं २०४० सालमा स्वर्गीय राजा वीरेन्द्र शाह सपरिवार शिकार खेल्नको लागि मुगुको रारा नगरपालिकाको चंखेली हिमालको काखमा आएका र सो बखत राजाले चंखेली तुथामा रहेको शिव पार्वतीको मन्दिरमा स्थानीय पुजारी माग्या बढुवाललाई नियुक्त गरी पूजाआजा गर्ने चलन बसाएका थिए । वीरेन्द्रकै आदेश अनुरुप नियमित पूजा हुँदै आइरहेको उक्त मन्दिरमा अचेल नियमित पूजा रोकिएको छ ।

८७ वर्षीय पूजारी बढुवालले बताएअनुसार राजा वीरेन्द्र जिवित हुँदा पूजाका लागि नियमित महिनाको ५ केजी चामल र नगद भेटी उपलब्ध गराएपनि अचेल सो रोकिएको यद्यपी नियमित पूजा नरोकियोस् भनेर आफ्नै खर्चमा पूर्ति गर्दै आएको बताउँछन् ।

उनी पुरानो दिन स्मरण गर्दै भन्छन् – ‘राजा वीरेन्द्र परिवारको साथ शिकार गर्न आउनुभएको थियो, पुआ भन्ने गाउँबाट गाउँलेले राजाको स्वागतका लागि झारल ल्याएका थिए । चंखेली हिमालबाट घोर कस्तुरा छोपेर ल्याउन हामी सँगै हिँडेका थियौँ तर बाक्लो हिउँ परेपछि राजा अगाडि बढ्न चाहनुभएन अनी हामीले त्यस रात बाम गाँउमा बसी स्थानीयले ल्याएका अन्नपात पकाएर वहाँलाई खुवायौँ र दोउडा खेलेर मनोरञ्जन गरायौँ ।’

बढुवालका अनुसार राजा वीरेन्द्र शाहको बंश नाश भएको दिन उनी साह्रै मर्माहत भएका थिए । उनले त्यो दुखद खवरपछि एक हप्तासम्म खाना खान सकेनन् । उनी भन्छन् -‘राजा पनि गए मन्दिरको सहुलियत पनि हरायो , उनका भाई ज्ञानेन्द्र शाह छन् भन्ने सुनेको छु तर भेट्न पाईदैन ।सरकारले रकम उपलब्ध गराए मैले नसकेपनि छोरा नातीले मन्दिरको पूजालाई निरन्तरता दिने थिए।’

LIVE TV