थुनामा राख्ने अदालतको आदेशसँगै ‘सिद्धबाबा’ फरार, राहदानी विभागको शौचालयको कन्तविजोक (भिडियो)



प्रकाशित मिति : Jan 23, 2020

काडमाडौं, ०९ माघ । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४८६ औं एपिसोड हो । कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. पिएसओ छोडेर भारत छिरे सिद्धबाबा !

इनरुवा । अनुयायी महिलामाथि जबरजस्ती करणीको मुद्दा खेपिरहेका सुनसरीको चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी सुरक्षार्थ खटिएका पिएसओ छाडी भारत छिरेका छन् ।

गिरी मोरङको जोगबनी नाकाहुँदै भारत प्रवेश गरेको बताइएको छ । गिरीसँगै रहेका उनका सुरक्षार्थ खटिदै आएका पिएसओ सीमावर्ती नाकाबाट एक्लै फर्किएपछि कृष्णबहादुर गिरी फरार भएको भन्ने समाचार बाहिरिएको हो ।

पिएसओ फिर्ता भएको विषयलाई सुनसरी प्रहरीले समेत पुष्टि गरेको छ । यद्यपी प्रहरीले सिद्धबाबा फरार भएको भनि दाबी गरेरै भन्न नसकिने जनाएको छ । सुनसरी प्रहरीका अनुसार गिरी जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेपछि यसअघि समेत केही दिनका लागि भारत गएका थिए ।

सुनसरीका प्रहरी प्रमुख यज्ञबिनोद पोखरेलले पछिल्लो पटक समेत सोही प्रकृया दोहोरिएको हुन सक्ने बताए ।

२. राहदानी विभागको शौचालयको ‘कन्तविजोग’

काठमाडौं, ०९ माघ । सरकारी कार्यालयमा कर्मचारी र सेवाग्राहीका लागि छुट्टा–छुट्टै शौचालय छुट्याइएको हुन्छ ।

कर्मचारीहरुको शौचालय सफा हुन्छ । तर, सेवाग्राहीहरुको शौचालय भने दुर्गन्धित, हेर्न नसकिने हुन्छ ।
जसको उदाहरण परराष्ट्र मन्त्रालय अन्तर्गत केशरमहलमा रहेको राहदानी विभागमा सेवाग्राहीका लागि छुट्याइएको शौचालयलाई लिन सकिन्छ ।

शौचालयबाट बगेको दिसा/पिसाब सडकमै पुगेको छ । राहदानी बनाउन पुगेका सेवाग्राहीहरु लाइन बस्ने ठाँउमा रहेको सो शौचालय यति दुर्गन्धित छ, कि सेवाग्राही बाहिरसमेत बस्न सक्दैनन् । सास फेर्न सकिन्न यहाँ ।

३. पूर्वाञ्चल क्याम्पसबाट इलेक्ट्रिकल इन्जिनियरिङ उत्तीर्ण विद्यार्थीले काउन्सिलमा दर्ता पाएनन्

सुनसरी, ०९ माघ । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको धरान–८ स्थित पूर्वाञ्चल क्याम्पसको इलेक्ट्रिकल इन्जिनियरिङ उत्तीर्ण विद्यार्थीहरू अहिले बेरोजगार बनेका छन् ।

नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता हुन नपाएपछि उनीहरु बेरोजगार भएका हुन् । अध्ययनपछि पेशामा लाग्न काउन्सिलमा दर्ता भएको हुनुपर्छ । पास आउट भइसक्दा पनि दर्ता हुन नपाएपछि विद्यार्थीहरु लामो समयदेखि आन्दोलित छन् ।

पटक–पटक क्याम्पस प्रशासन र डिनले समेत समस्या समाधान गर्ने बताउँदै आन्दोलन रोक्न लगाएपनि हालसम्म समस्या समाधान नभएको विद्यार्थीहरुको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com