प्रदेश १ बाट तीन वटै सिटमा नेकपाका उम्मेदवार विजयी



प्रकाशित मिति : Jan 23, 2020
  • तारा आचर्य

विराटनगर, ९ माघ । राष्ट्रिय सभा सदस्यका लागि प्रदेश नं. १ बाट महिला, दलित र अन्य गरी तीन वटै सिटमा नेकपाका उम्मेदवारहरु विजयी भएका छन् ।

बिहिवार भएको निर्वाचनमा महिला तर्फ नेकपाकी इन्दिरा गौतमले ६४२६ मतभार ल्याएर विजयी हुनुभएको हो भने दलित तर्फ नेकपाका गोपी बहादुर सार्की अछामी ६३३० मतभार ल्याएर विजयी हुनुभएको छ ।

यसैगरी अन्य तर्फ नेकपाका देवेन्द्र दाहाल ६२३४ मतभार ल्याएर विजयी हुनु भएको राष्ट्रिय सभा निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ । महिला तर्फ नेपाली कांग्रेसकी मीना पुलामी मगरले २६२२ मतभार, दलित तर्फ नेपाली कांग्रेसका निर बहादुर विश्वकर्माले २७१८ मतभार र अन्य तर्फ नेपाली कांग्रेसकै राजेन्द्र घिमिरेले २७६६ मतभार प्राप्त गर्नुभएको छ ।

यसैगरी समाजवादी पार्टी तर्फबाट महिला उम्मेदवार कमला बडही, दलित उम्मेदवार ज्ञान कुमार परियार र अन्य तर्फको उम्मेदवार भरतराज दाहाल सबैले २६४ मतभार प्राप्त गर्नुभएको छ । बिहान १० बजे देखि ४ बजे सम्म मतदान भएकोमा बेलुका ५ बजे देखि निर्वाचन अधिकृतको कार्यालयमा मतगणना गरिएको थियो ।

प्रदेश नं. १ मा नेकपा, नेपाली कांग्रेस र समाजवादी पार्टीले महिला, दलित र अन्य गरी तीन वटै सिटमा छुट्टाछुट्टै उम्मेदवार उठाएका थिए । प्रदेश नं. १ मा ९३ जना प्रदेश सांसद र २७४ जना स्थानीय तहका प्रमुख उपप्रमुखहरु मतदाता रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com