पूर्वाञ्चल क्याम्पसबाट इलेक्ट्रिकल इन्जिनियरिङ उत्तीर्ण विद्यार्थीले काउन्सिलमा दर्ता पाएनन्



प्रकाशित मिति : Jan 23, 2020
  • सन्तोष काफ्ले,

सुनसरी, ०९ माघ । इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको धरान–८ स्थित पूर्वाञ्चल क्याम्पसको इलेक्ट्रिकल इन्जिनियरिङ उत्तीर्ण विद्यार्थीहरू अहिले बेरोजगार बनेका छन् ।

नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता हुन नपाएपछि उनीहरु बेरोजगार भएका हुन् । अध्ययनपछि पेशामा लाग्न काउन्सिलमा दर्ता भएको हुनुपर्छ । पास आउट भइसक्दा पनि दर्ता हुन नपाएपछि विद्यार्थीहरु लामो समयदेखि आन्दोलित छन् ।

पटक–पटक क्याम्पस प्रशासन र डिनले समेत समस्या समाधान गर्ने बताउँदै आन्दोलन रोक्न लगाएपनि हालसम्म समस्या समाधान नभएको विद्यार्थीहरुको गुनासो छ ।

काउन्सिल र क्याम्पस प्रशासनबीचको गैरजिम्मेवारीपनले पासआउट भएका विद्यार्थीहरू मारमा परेका छन् । क्याम्पसमा शैक्षिक वर्ष २०७०/७१ देखि इलेक्ट्रिकल इन्जिनियरिङको पढाई सुरु भएको हो । अहिलेसम्म दुई वटा ब्याच पासआउट पनि भइसकेका छन् । तर, अहिलेसम्म काउन्सिलमा दर्ता हुन नपाउदा विद्यार्थीहरु बेरोजगार बनेर बसिरहेका छन् ।

क्याम्पस प्रशासनले समयमै काउन्सिलमा कोटा स्वीकृत नगराउँदा अहिले विद्यार्थीहरुको भविष्य अन्यौलमा परेको छ । काउन्सिलमा दर्ता हुनबाट बञ्चित हुँदा निजी कलेज, कम्पनी र संस्थानहरूमा जागिर पाउन नसकेको उनीहरूको गुनासो छ ।

यता क्याम्पस प्रशासन भने नेपाल सरकारको नयाँ नीतिलाई काउन्सिलले बुझ्न नसक्दा समस्या भएको भन्दै पन्छिने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com