९ माघ २०७६, बिहीबार

काठमाडौं, ०९ माघ । ‘बागमती सफाई महाअभियान’ले ३५० साता पूरा गरेको अवसरमा विशेष कायक्रमको आयोजना गरिने भएको छ ।

जारी विज्ञप्ति अनुसार शनिबार (माग ११ गते)का दिन काठमाडौंको त्रिपुरेश्वर (विश्व निकेतन विद्यालय पछाडि) स्थित बाग्मती किनारमा उक्त कायक्रमको आयोजना गरिने भएको हो । सो कार्यक्रम विहान ७ः३० बजेदेखि १०ः३० बजेसम्म हुनेछ ।

बाग्मती नदी सफाईबाट शुरु गरिएको यस अभियान अहिले बाग्मतीका शाखा नदीहरु जस्तै विष्णुमति, धोबीखोला, हनुमन्ते, मनोहरा, गोदावरी, बल्खु एवं चक्रपथका विभिन्न स्थान तथा भित्री टोलहरुमा विस्तार गरिएको जानकारी गराइएको छ ।

त्यस्तै उपत्यका बाहिर करीब ९० स्थान भन्दा बढी शहर बजारमा स्थानीयबासीको सहभागितामा सफाई कार्यक्रमहरु सञ्चालन भइरहेको पनि जनाइएको छ । यो अभियान २०७० जेठ ५ गते गुह्यश्वरी मन्दिरको प्रांगणबाट शुरु गरिएको थियो ।

यो राष्ट्रिय अभियान अटुट रुपमा हरेक शनिबार विहान सञ्चालन गरिंदै आएको छ ।

नेपाल सरकारका विभिन्न निकायहरु, सामाजिक÷धार्मिक संघ संस्थाहरु तथा बाग्मती सफाई अभियन्ताहरुको संयुक्त प्रयासमा संचालित यो अभियानमा नेपाली सेना, सशस्त्रप्रहरी, नेपाल प्रहरी, गायत्री परिवार, यस ट्राभल्स डट कम, नेपाल विज्ञापन संघ, नेपाल चलचित्र कलाकार संघ, प्याब्सन, एन प्याब्सन, नेपाल टेलिकम, लगायत लाखौंको संख्यामा विद्यार्थी, शिक्षक, कर्मचारी, व्यवसायी, उद्योगपति, पत्रकार, कलाकार, डाक्टर, इन्जिनियर, समाजसेवी, राजनीतिकर्मी आदिले सहभागिता जनाउदै आएका छन् ।

७ वर्षको अवधिमा बाग्मती नदीमा वर्षौंदेखि थुप्रिएका १२ हजार टन भन्दा बढी फोहर उठाइएको छ, भने करीब १० लाखभन्दा बढी स्वयंसेवीहरुले यस अभियानमा समय दान गरिसकेका बताइएको छ ।

LIVE TV