सूर्य नेपालको उपाधि बलभद्र राईलाई



प्रकाशित मिति : Jan 23, 2020
  • सन्तोष काफ्ले,

सुनसरी, ०९ माघ । धराने प्राफेसनल गल्फर बलभद्र राई ‘मणि’ले सूर्य नेपाल इस्टर्न ओपनको उपाधि हात पारेका छन् ।

इस्टर्न ओपन ९ अण्डरको रेकर्ड बनाउँदै राईले उपाधि जितेका हुन् । बलभद्रले आफ्नो करिअरमै दोस्रो पटक इस्टर्न ओपनको उपाधि हात पार्न सफल प्राफेसनल गल्फर समेत बनेका छन् ।

उपाधिसँगै राईले ट्रफी र नगद १ लाख २५ हजार रुपैयाँ पाए । उनले २००८/०९ को टुरमा वेस्टर्न ओपन उपाधि पनि जितेका थिए । उनले शिवराम श्रेष्ठको ७ अण्डरको रेकर्ड तोड्दै नयाँ रेकर्ड समेत बनाउन सफल भएका छन् ।

६ अन्डर खेल्दै ६३ स्कोर बनाएका शिवराम श्रेष्ठले दोस्रो हुदै नगद ७५ हजार रुपैयाँ प्राप्त गरे । धरानस्थित निर्भाना कन्ट्री क्लबको कोर्षमा तेस्रो तथा अन्तिम दिन ३ अन्डर ६७ स्कोर जोड्दै समग्रमा ९ अन्डर २ सय १ को स्कोर बनाए ।

बलभद्रले पहिलो दिन १ अन्डर ६९ र दोस्रो दिन ५ अन्डर ६५ स्कोर जोडका थिए । अन्तिम दिन विहीबार १ ओभर ७१ स्कोर जोडेका निरज तामाङले समग्रमा ४ अन्डर २ सय ६ स्कोरसहित एमेच्योरतर्र्फको उपाधि उचाले ।

एमेच्योरतर्फ शुक्रराज राईले १३ ओभर २ सय २३ स्कोर जोड्दै दोस्रो स्थान हाँसिल गरे । तेस्रो स्थानमा १५ ओभर २ सय २५ स्कोर जोडेका सुन्दर राई रहे । समग्रमा व्यवसायिक गल्फर शुक्रबहादुर राई तेस्रो स्थान हाँसिल गर्दै ५५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

त्यस्तै धनबहादुर थापाले ४ ओभर २ सय १४ स्कोरकासाथ चौथो स्थानमा रहदै ४५ हजार रुपैयाँ प्राप्त गरे । समान ६ ओभर २ सय १६ स्कोरसहित शिवकुमार माझी र सूर्यप्रसाद शर्माले संयुक्त पाँचौ स्थानमा रहदै जनही ३५ हजार ५ सय रुपैयाँ पाए ।

७ ओभर २ सय १७ स्कोर बनाएका दिनेश प्रजापतिले सातौं हुदै नगद ३१ हजार पाए । समान ८ ओभर २ सय १८ स्कोर बनाएका जयराम श्रेष्ठ र रवि खड्का संयुक्त आठौं हुदै जनही नगद २८ हजार पाए ।

१० ओभर २ सय २० स्कोर बनाउदै दशौं स्थान बनाएका संजय लामा र दीपक मगरले समान २३ हजार २ सय ५० रुपैयाँ पाए ।

विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका मार्केटिङ म्यानेजर बालकिशन गुरुङ, धरान उपमहानगरपालिकाका मेयर तथा नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, संघीय सांसद सीना सुब्बा तथा नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर १ का सभापति सुरेशमान श्रेष्ठलगायतले नगद तथा ट्रफी प्रदान गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com