चिसोकाे कारण विद्यार्थीलाई गाह्रो भएपछि न्यानो कपडा वितरणको अभियानमा जनप्रतिनिधि



प्रकाशित मिति : Jan 23, 2020
  • सुवास लामिछाने

र्वत, ०९ माघ । चिसोका कारण विद्यार्थीलाई गाह्रो भएपछि पर्वतको महाशिला गाउँपालिका ५ लुँखुदेउरालीका जनप्रतिनिधिहरूले न्यानो कपडा वितरणको अभियान चलाएका छन्। वर्षा र हिमपातका कारण चिसो बढेपछि प्राथमिक तहमा अध्ययनरत बालबालिकाहरूलाई विद्यालयमा गएर अध्ययन गर्न नै समस्या भएपछि जनप्रतिनिधिहरूले दाताहरूको खोजी गरेर विद्यालयमा स्विटर वितरण अभियान चलाएका हुन्।

अभियान अन्तर्गत पहिलो चरणमा महेन्द्रज्योती माध्यमिक विद्यालयको कक्षा १ देखि ६ सम्म अध्ययन गर्ने ७० जना बालबालिकाहरूलाई विद्यालय पोसाककै स्विटर वितरण गरिएको छ। राष्ट्रिय वाणिज्य बैङ्क लुँखुदेउराली शाखाको सहयोगमा झन्डै ४२ हजार मूल्य बराबरका स्विटरहरू विद्यार्थीहरूलाई दिइएको वडाध्यक्ष जीवनविक्रम उचैले बताए। मौसममा सुधार आउन नसक्दा चिसो निकै बढेकाे छ।

उपल्लो तहमा भन्दा पनि तल्लो तहमा अध्ययनरत विद्यार्थीहरूलाई कठिन भएको महसुस गरेर दाताहरुको खोजी गरेर वडाका ७ ओटा विद्यालयका प्रावि तहमा पढ्ने सबै भाइबहिनीहरूलाई स्विटर वितरण गर्न थालेका छौँ।’ उनले भने, ‘वडाबाट यसका लागि बजेट असम्भव रहेकाले हामी सबै जनप्रतिनिधि र अन्य सरोकारवालाहरूले पनि दाताहरूको खोजी गरिरहेका छौँ।’

वडा नं. ५ मा १ मावि र ६ ओटा प्रावि गरी ७ ओटा विद्यालयमा झन्डै २ सय जना विद्यार्थीहरू प्राथमिक तहमा अध्ययनरत छन् भने उनीहरू सबैका लागि झन्डै १ लाख २० हजार मूल्यका स्विटर आवश्यक पर्नेछ। पहिलो चरणमा वाणिज्य बैङ्कको शाखाले ४२ हजार मूल्यका स्विटर उपलब्ध गराएपछि आवश्यक पर्ने अन्य स्विटर खरिद गर्न समस्या नहुने वडाध्यक्ष उचैको भनाई छ। यो अभियानमा सामुदायिक विद्यालयमा अध्ययनरत प्रावि तहका विद्यार्थीलाई प्राथमिकता दिइएको भए पनि दाताहरू पाएको अवस्थामा आधारभूत माध्यमिक तहमा अध्ययनरत विद्यार्थीहरूलाई पनि स्विटर वितरण गर्ने वडाको योजना छ।

जनप्रतिनिधिहरूले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका अभिभावकहरूको आर्थिक अवस्था कमजोर रहेकाले जाडोको समयमा पनि विद्यार्थीलाई न्यानो कपडा नभएको बताएपछि ७० जना विद्यार्थीको लागि स्विटर उपलब्ध गराएको कारण विद्यार्थीहरूलाई राष्ट्रिय वाणिज्य बैङ्क लुँखुदेउराली शाखाका प्रबन्धक सन्दीप पौडेलले बताए।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com