९ माघ २०७६, बिहीबार
  • अमर काफ्ले,

इनरुवा, ०९ माघ । अनुयायी महिलामाथि जबरजस्ती करणीको मुद्दा खेपिरहेका सुनसरीको चतराका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी सुरक्षार्थ खटिएका पीएसओ छाडी भारत छिरेका छन् ।

गिरी मोरङको जोगबनी नाकाहुँदै भारत प्रवेश गरेको बताइएको छ । गिरीसँगै रहेका उनका सुरक्षार्थ खटिदै आएका पिएसओ सीमावर्ती नाकाबाट एक्लै फर्किएपछि कृष्णबहादुर गिरी फरार भएको भन्ने समाचार बाहिरिएको हो ।

पिएसओ फिर्ता भएको विषयलाई सुनसरी प्रहरीले समेत पुष्टि गरेको छ । यद्यपी प्रहरीले सिद्धबाबा फरार भएको भनि दाबी गरेरै भन्न नसकिने जनाएको छ । सुनसरी प्रहरीका अनुसार गिरी जिल्ला अदालत सुनसरीबाट धरौटीमा छुटेपछि यसअघि समेत केही दिनका लागि भारत गएका थिए ।

सुनसरीका प्रहरी प्रमुख यज्ञबिनोद पोखरेलले पछिल्लो पटक समेत सोही प्रकृया दोहोरिएको हुन सक्ने बताए । पिएसओको भनाइलाई उद्यृत गर्दै एसपी पोखरेलले भने, “उपचार गराएर केही दिनमा फर्किन्छु, भन्दै सिद्धबाबा उपचार गराउन भन्दै भारत तर्फ लाग्नु भएको हो ।”

सुनसरी जिल्ला अदालतले गिरीलाई ३ लाख धरौटीमा रिहा गरेको थियो । गिरीले माघ ५ गतेलाई अदालतले तोकेको तारेक बुभिसकेका छन् । गिरी निकट कानून व्यवसायीहरुले गिरीको अर्को तारेख फागुन ६ गतेलाई तोकिएको जनाएका छन् ।

जबरजस्ती करणीको फौजदारी मुद्धा खेपिरहेका व्यक्तिको हकमा अदालतले तोकेको तारेखको मितिमा स्वयं आफैं उपस्थित हुनुपर्ने हुन्छ ।

अदालतले दिएको तारेखमा अनुपस्थित भए म्याद गुज्रिएको मितिबाट २१ दिन भित्रमा तारेख जोडी पाउँ भनी निवेदन दिएर पूनः तारेख थमाउन पाउने व्यवस्था रहेको कानून व्यवसायीहरु बताउँछन् ।

सिद्धबाबा धरौटीमा रिहा भएपछि पीडित महिलाले थुनामै राखेर मुद्दाको पूर्पक्षको माग गर्दै उच्च अदालतमा रिट दायर गरेकी छिन् । गिरीले साधारण तारेखको माग गर्दै उच्च अदालतमा निवेदन समेत दिएका छन् । गिरी विरुद्धको मुद्दाको उच्च अदालतमा आज पेशी थियो ।

LIVE TV