एपीएफद्वारा मन्दिरको सफाई



प्रकाशित मिति : Jan 23, 2020
  • अमर काफ्ले,

इनरुवा, ०९ माघ । सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण हेडक्वाटर इनरुवाले १९औं सशस्त्र प्रहरी बल दिवसको अवसर पारेर महेन्द्रचोकमा रहेको राधाकृष्ण मन्दिर सरसफाई गरेको छ ।

सशस्त्र प्रहरीले दिवसको अवसर पारेर विभिन्न कार्यक्रमको आयोजना गरीरहँदा मन्दिर परिषर समेत सरसफाई गरेको हो ।

इनरुवा ३ को महेन्द्रचोकमा शुक्रबारबाट श्रीमद् भागवत महापुराणको आयोजना गर्न लागिएको छ । पुराणको पूर्व सन्ध्यामा मन्दिर परिषर सरसफाईको कार्यक्रममा सशस्त्र प्रहरी बल इनरुवाको टोलीले साथ र सहभागिता जनाएको सामाजिक अगुवा सरिता घिमिरेले बताइन् ।

सामाजिक उत्तरदायित्व वहन गर्ने सिलसिलामा सशस्त्रले विभिन्न कार्यक्रमहरुमा साथ र सहयोग उपलब्ध गराउँदै आएको छ ।

सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले निःशुल्क स्वास्थ्य शिविर, रक्तदान, मठमन्दिर, पाटीपौवा र सार्वजनिक क्षेत्र सरसफाई जस्ता काममा सकृय सहभागिता जनाउँदै आएको बताए ।

उपरीक्षक ढकालले यस्ता कार्यक्रमहरुले सर्वसाधारण र सशस्त्र प्रहरीबिचको समवन्ध थप प्रगाढ र मजबुत बनाउदै आपसमा अपनत्वको भाव बढाउन सहयोगी सिद्द हुने विश्वास व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com