९ माघ २०७६, बिहीबार

काठमाडौं , ९ माघ । सरकारले आफ्नै वन–जंगलका रूखको उपयोग गर्न नसक्दा विदेशबाट दैनिक डेढ करोड रुपैयाँको काठ आयात गर्नुपरेको छ । सरकारले वनको वैज्ञानिक व्यवस्थापनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न नसक्दा वनमा अर्बौं रुपैयाँ बराबरका काठ कुहिँदै छन् ।

तर, दैनिक १ करोड ५७ लाख ५३ हजार ४ सय ३५ रुपैयाँको काठ विदेशबाट आयात भइरहेको छ । यो अवस्थाले मुलुकलाई काठमा आत्मनिर्भर बनाउने सरकारी योजनामाथि गम्भीर प्रश्न चिह्न सिर्जना गरिदिएको छ । मुलुक काठमा आत्मनिर्भर हुन नसक्दा सर्वसाधारण उपभोक्ता महँगोमा काठ किन्न बाध्य छन् । वातावरण संरक्षणमा मुलुकले उल्लेख्य उपलब्धि हासिल गरिरहेको दाबी गरिए पनि गत आर्थिक वर्षमा सात मुलुकबाट ५ अर्ब ७५ करोड रुपैयाँको काठ आयात गरिएको सरकारी तथ्यांकले देखाएको छ ।

वनमा काठ कुहिए पनि त्यसको व्यवस्थापनमा ध्यान नहुँदा आयात बढेको विज्ञहरूले बताएका छन् । भन्सार विभागका अनुसार गत आवमा भारत, चीन, इन्डोनेसिया, मलेसिया, म्यान्मार, सिंगापुर र युक्रेनबाट काठका गोलिया, चिरान, प्लाई, झ्यालढोकामा प्रयोग हुने फ्रेमलगायत काठजन्य सामान आयात गरिएको थियो । इन्डोनेसिया, मलेसिया, म्यानमार, युक्रेनलगायत मुलुकबाट १ अर्ब ५१ करोड ५० लाख १५ हजार रुपैयाँको गोलिया काठ आयात भएको विभागले जनाएको छ ।

‘गत आवमा भारत, चीन, म्यान्मार, इन्ण्डोनेसिया, सिंगापुरलगायतका मुलुकबाट १ अर्ब ६३ करोड ६३ लाख ७० हजार रुपैयाँबराबरको चिरान काठसमेत आयात भएको छ,’ विभागका महानिर्देशक तोयम रायले भने, ‘यसबाहेक भारत, चीनलगायत मुलुकबाट ६३ करोड ८३ लाख ४ हजार रुपैयाँ मूल्यबराबरको काठका प्लाई तथा बोर्ड आयात भएको देखिन्छ ।’

नेपालमा भारत र चीनबाट सबैभन्दा बढी प्लाई आयात हुने गरेको छ । झ्यालढोकामा प्रयोग हुने फ्रेमदेखि दाँत कोट्याउने टुथपिकसम्म विदेशबाटै आयात गरिन्छ । यो खबर आजको राजधानी दैनिकमा छ ।

LIVE TV