८ माघ २०७६, बुधबार
  • आशिष केसी

सल्यान, ०८ माघ । सल्यानमा एक गाउँपालिकाको पहलमा जिल्लामै पहिलो पटक छात्राका लागि स्यानिटरी प्याड उपलब्ध गराउने स्वचालित मेसिन जडान गरिएको छ । सल्यानको छत्रेश्वरी गाउँपालिकाको आर्थिक सहयोगमा २ वटा सामुदायिक विद्यालयमा अटोमेटिक स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिएको हो।

छत्रेश्वरी गाउँपालिका अन्र्तगतका ६ नं. वडामा रहेको त्रिभुवन जनता मावि भोटेचौर र वडा नम्बर १ को भानुभक्त माविमा बुधबार अटोमेटिक प्याड मेसिन जडान गरेको छ। गाउँपालिका उपाध्यक्ष सिता केसी र बिद्यालयमा अध्यणरत छात्रा पिमा बुढाथोकीले आज त्रिभुबन जन्ता माबीमा संयुक्तरुपमा प्याड मेसिनको उद्घाटन गरेका छन ।

विशेष गरी छात्राहरु महिनावारी भएकाबेला बिधालय नआउने समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले पहिलो चरणमा २ वटा बिद्यालयमा उक्त प्याड मेसिन जडान गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले बताएका छन।

अब मेसिन जडानपछि महिनावारी भएका छात्राहरुपनी नियमितरुपमा विद्यालय आउने अपेक्षा गाउँपालिकाको रहेको उनले बताए। उनका अनुसार छात्राहरूले एटिएमजस्तै कार्डले मेसिनबाट स्यानिटरी प्याडको निस्शुल्क सुविधा पाउनेछन्। गाउपालिकाले करिब २ लाखमा खरिद गरेको मेसिनमा प्रत्येक मेसिनमा ५० वटा प्याडहरु अटने छन भने विद्युत आपुर्ति बन्द भएपनि पाँच घण्टा सम्म मेसिनमा ब्यापक रहने छ ।

प्रत्येक बिद्यालयमा छात्राहरुको पढाईलाई नियमित गर्न, उनीहरुको पढाईलाई कुनै किसिमको अबरोध नआवस भनेर मेसिनहरु जडान गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोष केसी बताउँछन् । अब गाउँपालिकाका प्रत्येक विद्यालयमा अटोमेटिक स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिने र छात्राहरु महिनावारीको उमेर भएपछि ड्रप आउट हुने, विभिन्न बहाना गरेर बिदा माग्ने गरेकोमा अब सेनेटरी प्याड मेसिन जडान भएपछि त्यस्तो समस्या नआउने उनी बताउँछन ।

मेसिनमा स्मार्ट कार्ड राखेपछि प्याडहरु बाहिर निस्कने छन । सो मेसिनबाट विद्यालय समयभित्र कक्षाका टिम लिडरसंग स्मार्ट कार्ड लिएर कुनै पनि छात्राले प्याड निकाल्न सक्ने ब्यबस्था गरिएको विद्यालय जनाएका छन । सम्पूर्ण छात्राहरुलाई मेसिनमा स्मार्टकार्ड छिराएर प्याड निकाल्ने प्रक्रिया पनि सिकाएको उनले बताए।

LIVE TV