८ माघ २०७६, बुधबार
  • रोशन दानी,

काठमाडौं, ०८ माघ । महानगरीय प्रहरी मातहतका कार्यालयहरू आउने सेवाग्राहीहरूको सहजीकरणको लागि ‘नागरिक सहजकर्ता सेवा’को सुरूवात गरिएको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलका अनुसार बुधवारदेखिनै ‘नागरिक सहजकर्ता सेवा’को सुरूवात गरिएको हो ।

प्रहरीले दिने सेवा सहज, सरल, मर्यादित, समान, निष्पक्ष र पारदर्शी बनाउने अभिप्रायले उपत्यकाका हरेक मुद्धा चल्ने प्रहरी कार्यालयहरूमा कार्यालय समयमा नागरिक सहजकर्ताको व्याज लगाई कार्यालयको गेटमा नागरिकहरूलाई सेवा दिने गरी बस्ने व्यवस्था सुरू गरिएको हो ।

विभिन्न प्रहरी कार्यालयहरूबाट उक्त कार्यमा खटिएका प्रहरी कर्मचारीहरूलाई महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले निर्देशन दिदै भन्नुभयो, ‘हामी अन्यायमा पर्नेहरुको साथी, सहयोगीका पक्षधर हौं । न्यायको लागि आउने जो–कोही नागरिकलाई दिने हाम्रो सेवा सहज, सरल, समान, पारदर्शी, निष्पक्ष र छिटो छरितो हुनु पर्छ ।’

उहाँले कार्यालयमा आएका सेवाग्राहीहरूले न्यायको लागि ‘म संग राज्य, सरकार, प्रहरी संगठन छ’ भन्ने अनुभूत गर्ने गरी बोली बचन र सहयोगी भावनासहितको सेवा दिन निर्देशन दिनुभयो ।

नागरिकलाई परेको समस्या आफूलाई नै परेको सरह सम्झेर विभिन्न समुदाय, वर्ग, क्षेत्र, जातजाती जहाँबाट आएको भएपनि सबैलाई उच्च सम्मान र मर्यादाका साथ नागरिक सहजकर्ताले सम्बन्धित कर्मचारी र शाखा समक्ष पु–याउन सहयोग गर्नेछ ।

कोही कसैबाट कमजोरी भएमा वा सेवा प्राप्तिका लागि आउने नागरिकहरू असन्तुष्ट भएमा सम्बन्धित कर्मचारी जिम्मरवार हुनुपर्ने पनि उहाँको भनाइ थियो ।

नागरिक सहजकर्ताको सेवा आजैबाट पहिलो चरणमा ३ वटै महानगरीय प्रहरी परिसरहरू, ट्राफिक महाशाखा, ललितपुर र भक्तपुर ट्राफिक परिसर, अपराध महाशाखा र परिसर मातहतका सबै वृत्त र प्रभागहरूमा सुरूवात गरिएको छ ।

LIVE TV