८ माघ २०७६, बुधबार

काठमाडौं, ०८ माघ । वास्तवमै एउटा खेलाडीले देशलाई ‘गोल्ड मेडल’ दिलाउनु चानचुने कुरा होइन । एउटा खेलाडीले राष्ट्रलाई दिलाएको एउटा सफलताभित्र उसको संघर्ष, मेहेनत र खेलप्रतिको लगाव विशेष हुन्छ ।

सुदूरपश्चिमको कञ्चनपुरको वीरबहादुर महराका लागि राष्ट्रलाई १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा तेक्वान्दो खेलमार्फत राष्ट्रलाई गोल्ड मेडल दिलाउनुका पछाडि संघर्षका कथा छन् ।

केही समय अघि मात्रै नेपालमा सम्पन्न भएको १३ औं सागको तेक्वान्दो खेलको ६८ केजी तौलमा उनले राष्ट्रलाई गोल्ड मेडल दिलाए । यो सफलता प्राप्त गर्नका लागि वीरबहादुर महराले काठ चिर्नेदेखि भारतमा पुगेर मजदूरीसम्म गरेका छन् ।

न्यूज २४ टेलिभिजनले उही वीर बहादुरसँग आफ्नो नियमित प्रस्तुति ‘६ प्रश्न’मा विशेष कुराकानी गरेको छ ।

टिभी जर्नलिष्ट बीरेन्द्र जैरुसंग कुरा गर्दै वीर बहादुर महराले भने, ‘राष्ट्रलाई स्वर्ण पदक दिलाएँ । एकदम खुसीको अनुभव महसुस भइरहेको छ ।मैले आफ्नै गाउँ–ठाउँको नाम राख्न पाएँ । सबैले ‘आफ्नो गाउँ–ठाउँको नाम सबैसामू फैलाइस्’ भन्दै प्रसंसा गर्छन् ।’

घरेलु कोर्टमै भएको १३ औं साग खेल राम्रो भएको उनको भनाइ छ । सबै नेपाली दिदी–बहिनी तथा दाजुभाईको हौसला र सँधै आफूले अभ्यास गर्ने कोर्ट भएकाले खेल्न जित्न सफल भएको वीर बहादुरको कथन छ । त्यस्तै आफ्नो सफलताको पछाडि घरेलु दर्शकहरुको साथ रहेको पनि उनको अनुभव छ ।

१२ औं सागमा वीर बहादुरले सिल्भर मेडल जितेका थिए । त्यतिखेर उनी अफ्गानिस्तानका खेलाडीसँग पराजित भएका थिए । तर, १३ औं सागमा भने उनले पाकिस्तानका खेलाडीलाई पराजित गर्दै गोल्ड मेडल जित्न सफल भए ।

महराले अगाडि भने , ‘१२ औं साग भनेको मेरो पहिलो इन्टरनेशनल म्याच थियो । त्यतिबेला गेमको त्यति अनुभव पनि थिएन । त्यसैले नै आफूले हार व्यहोर्नु परेको हो जस्तो लाग्छ । तर, त्यति धेरे स्कोरले हारेको भने होइन । हार्दा पनि तीन स्कोर (९–१२)ले मात्रै हारेको हो ।’

त्यसपछि आफुले निरन्तर म्याचको अनुभव पाएको छ बीचमा धेरै गेम खेल्दा थप निखारिएकोले १३ औं सागमा स्वर्ण जित्न सफल भएको पनि महराको भनाइ छ ।

बाँकी कुराकानी भिडियोमा हेर्नुहोस् :

LIVE TV