८ माघ २०७६, बुधबार
  • सुरेश श्रेष्ठ

दाङ,०८ माघ । प्रदेश नम्वर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दक्ष जनशक्ति विना विकासले गती लिन नसक्ने बताउनुभएको छ ।

तुलसीपुर बहुप्राविधिक शिक्षालय (मेट्रो कलेज)को आज बुधबार तुलसीपुर १२ हरिपौरा दाङमा उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री पोख्रेलले मुलुकमा जनशक्ति प्रशस्त भएपनि दक्ष जनशक्तिको अभाव भइरहेको बताउनुभयो ।

रेल सञ्चालनको तयारी सरकारले गरिरहेको छ । तर चलाउन सक्ने क्षमता भएका नागरिकको अभावका कारण विदेशी नागरिकलाई ल्याउनु पर्ने अवस्था सृजना हुने बताउनुभयो ।

शिक्षित नागरिकको कमी भने मुलुकमा नभएको बताएका मुख्यमन्त्री पोख्रेलले आधुनिक प्रविधिलाई चलाउन सक्ने क्षमता भएका दक्ष नागरिकको उत्पादन गर्नतर्फ विशेष ध्यान दिनुपर्छ । उहाँले भन्नुभयो, ‘शिक्षाले नागरिकलाई सचेत बनाउँछ तर जीवन उपयोगी शिक्षा भए देश र आर्थिक सम्वृद्धि समेत टेवा पुग्ने छ ।’

शिक्षा क्षेत्रको विकासका लागि सरकारले लगानी गर्नमा कुनैपनि कमि नगर्ने पोख्रेलको भनाइ छ । प्रदेश ५ सरकारले यस मेट्रो कलेजका लागि १० करोड बिनियोजन गरेको समेत उहाँले उक्त कार्यक्रममा जानकारी दिनुभयो ।

LIVE TV