८ माघ २०७६, बुधबार

कञ्चनपुर, ८ माघ । सानो झुपडीमा जीवनका ५२ वर्ष गुजार्नुभएका नैने सार्कीलाई घर र १० धुर जग्गाको लालपुर्जा हातमा परेको छ । अर्काको घरमा २० वर्ष हलो जोतेर कठिन जीवन बाँच्नुभएका सार्कीलाई हातमा लालपुर्जा पर्दा पत्याउन गाह्रो भयो ।

घरजग्गाविहीन भएर जीवनभर अर्काको हलो जोतेर भोगेको पीडा उहाँले आफ्नै घरमा बिसाउन पाउनुभएको छ । उहाँले घर मिल्यो, सुख भयो । पहिलाभन्दा धेरै राम्रो छ, हलिया हुँदा दबाब थियो, त्यहाँबाट छुटकारा भएर यहाँ आउँदा ठीक लागेको छ भन्नुभयो ।

उहाँले डडेलधुराको डोटीबटाल गाउँमा दैनिक एक माना चामलका भरमा २० वर्ष हलो जोत्नुभएको थियो । पुस्तौँदेखि उहाँका बुबा र बाजे सबैले हलो जोत्नुभएको थियो । हँसिलो चेहरामा उहाँले लालपुर्जा हातमा पर्दा निकै खुसी लाग्यो । धेरै धन्यवाद दिन मन लागेको छ भन्नुभयो । उहाँको थप अपेक्षा छ, सरकारले बास दियो अब गासको समस्या पनि समाधान गरिदेओस् ।

सरकारले कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर १९ को बागफाँटामा एकीकृत बस्ती निर्माण गरी मुक्त हलियाको पुनस्र्थापना गर्दा बस्तीमा खुसी छाएको छ । घरजग्गाविहीन हलिया परिवार आफ्नै घरमा बस्न पाउँदा निकै खुसी देखिन्थे ।

बस्ती हस्तान्तरणको औपचारिक समारोहमा पुग्दा ललिता लोहारको परिवारमा पनि विशेष खुसी छाएको थियो । उहाँले खुसी व्यक्त गर्दै बस्ने बास भयो, खानेपानी र ट्वाइलेट भएको छ । हलिया हुँदाखेरी त जिन्दगी बिजोग थियो भन्नुभयो ।

एउटा कोठा मात्र भएको जस्ताको झुपडी चार जनाको परिवारले गुजारा गर्नुपरेको तीतो यथार्थ पोख्दै उहाँले पहिला एउटै कोठामा डल्लो पर्नुपथ्र्यो । अहिले त राम्रो छ, केटाकेटीले खेल्ने ठाउँ पाएका छन् भन्नुभयो । यो खबर आजको गोरखापत्र दैनिकले छापेको छ ।

LIVE TV