पुडासैनी प्रकरणमा ‘सीधाकुरा’ टिम निर्दोष, अदालतले दियो सफाई, किसानलाई ठगी गर्ने गणेश दत्त भट्ट समातिए (भिडियो)



प्रकाशित मिति : Jan 21, 2020

काठमाडौं, ०७ । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ४८५ औं एपिसोड हो । कार्यक्रममा आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ ।

निम्न विषयमा रिपोर्टहरु प्रस्तुत गरिएको छ :

१. सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललाई आत्महत्या दुरुत्साहन मुद्दामा सफाई

काठमाडौं । सञ्चारकर्मीद्वय रवि लामिछाने र युवराज कँडेललाई जिल्ला अदालत चितवनले सफाई दिएको छ । जिल्ला अदालत चितवनमा आइतबार भएको बहस सकिएपछि फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले लामिछाने र कँडेललाई सफाई दिएको हो ।

अदालतको फैसला सुनाउँदै न्यायाधीश रावलले शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा दुरुत्साहन गरेको भन्नेबारेमा कुनै संलग्नता नदेखिएको भन्दै सञ्चारकर्मीद्वय लामिछाने र कँडेललाई सफाई दिएको हो ।

२. सरकारसँग भएको सम्झौताको म्याद सकिएपनि उखु किसानले पाएनन् भुक्तानी !

काठमाडौं, ०७ माघ । सबै बक्यौता माघ ७ भित्र उपलब्ध गराउने गरी पुस १८ गते सरकार र उखु किसानबीच पाँच बुँदे सम्झौता भयो ।

सम्झौता अनुसार आज सबै वक्यौता किसानले पाउनुपर्ने भएपनि अझै १० वटा चिनी मिलबाट किसानले १ अर्ब रुपैयाँ पाएका छैनन् ।

सरकार र किसानबीच भएको सहमतिपछि विभिन्न चिनी मिलबाट किसानले १५ करोड ७५ लाख मात्रै बक्यौता रकम पाएका छन् ।

उनीहरुले महालक्ष्मी सुगर मिलले १० करोड, अन्नपूर्ण सुगर मिलले ३ करोड ९० लाख र अन्य मिलबाट ८५ लाखमात्र पाएका छन् । तर, अझै अन्य १० वटा चिनी मिलबाट १ अर्ब बक्यौता रकम भने किसानले पाएका छैनन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार महालक्ष्मी सुगर मिलले किसानलाई १० करोड ९० लाख बक्यौता तिर्न बाँकी छ ।

३. ६६ जिल्लाका किसानलाई ठगी गर्ने एसोसिएसन अफ एग्रिकल्चरका अध्यक्ष प्रहरी नियन्त्रणमा

धनगढी, ०७ माघ । एसोसिएसन अफ एग्रिकल्चर नामक संस्थाका अध्यक्ष गणेश दत्त भट्ट प्रहरी नियन्त्रणमा परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले अध्यक्ष भट्टलाई गत आइतबार राति धनगढी उपमहानगरपालिकाको चटकपुरबाट नियन्त्रणमा लिन सफल बनेको हो ।

उनले ६६ जिल्लाका कृषकलाई १० वर्षसम्म निःशुल्क बिउ–विजन वितरण गर्ने आश्वसन देखाएर लाखौं पैसा उठाउने तथा ५० हजारदेखि २ लाखसम्म धरौटी रकम लिएर नियुक्त गरेका कर्मचारीलाई समेत ठगी गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com