कृषि र उद्योगको विकास विना देश समृद्ध हुदैन : उद्योग मन्त्री भट्ट



प्रकाशित मिति : Jan 21, 2020
  • राजन परियार

सिन्धुली ०७, माघ । उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले देशमा कृषि र उद्योगको विकास नभए सम्म देश आर्थिक रुपमा समृद्ध हुन नसक्ने बताउनु भएको छ । सिन्धुलीको मरिण गाउँपालिका सहानेमा मंगलवारदखि सुरु भएको मरिण महोत्सवलाई उद्घाटन गर्दै मन्त्री भट्टले देशमा कृषि पेशालाई उद्योगको रुपमा विकास नगरेसम्म आर्थिक समृद्धिको कल्पना समेत गर्न नसकिने बताउनु भएको हो ।

संघीय सरकारले कृषि क्षेत्रलाई औद्योगिकरण गर्न देशका ९० वटा स्थानमा औधोगिक क्षेत्रको पूर्वाधार विकास गर्न अध्ययन सुरु गरेको र यसलाई चाँडै नै निश्कर्षमा पु¥याउने भट्टले बताउनुभयो । उहाँले भन्नु भयो–‘ सरकार कृषि क्षेत्रलाई व्यावसायिकरण गरी स्वदेशमै रोजगारको अवसर सिर्जना गराउन लागि परेका छौँ, कृषिलाई उद्योगका रुपमा विकास गर्न हाल ३२ वटा स्थानीयतहसँग संझौता गरी ९२ लाख रुपैयाँका दरले अनुदान दिइसकेको छौ’ ।

मन्त्री भट्टले देशको ब्यापार घाटालाई कम गर्न छिमेकी मुलुक चिनकोे तातोपानी, खासा, केरुङ, हिल्सा र भारत तर्फका विरगंज र विराटनगर नाकालाई व्यवस्थीत गरी उत्पादीत बस्तुको आयात तथा निर्यातका सरकारले नाकालाई व्यवस्थित गर्न लागेको बताउनु भयो । रोजगारका लागि विभिन्न खाडी मुलुक पुगेको युवाहरुको सिप र शक्तीलाई स्वदेशमै कृषि क्षेत्रमा लगाउँन गाउँगाउँमा लघु उद्यमहरु संचालनमा समेत वर्तमान सरकारको लक्ष्य रहेको बताउनुभयो । साथै उनले सिन्धुलीको मरिण क्षेत्रलाई कषि औद्योगिक क्षेत्रका रुपमा घोषणा गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

बजारहरुमा मंहगी बढेको, गुणस्तरहीन सामाग्रि बजारमा पु¥याउने कार्य गर्नेलाई सरकारले यस्ता कार्य रोक्नअध्ययन गरी कुनै व्यापारीले उपभाक्तालाई मारमा पार्दै यस्तोकार्य गरे कानुन अनुसार कारबाही गरिने चेतावनी दिनुभयो । कार्यक्रममा पूर्व कृषि मन्त्री तथा नेकपाका स्थायी समिति सदस्य हरिबोल गजुरेलले कृषिक्रान्ती र आर्थीक समृद्धिका लागि मरिण क्षेत्रको कृषि योग्य जमिनमा कृषि उद्योग संचालन गर्नु पर्नेमा जोड दिए ।

गजुरेलले यहाँ उत्पादनहुने कृषि बालीलाई व्यवस्थित गर्दै उद्योगका रुपमा विकास गर्न सके मरिण क्षेत्र र सिन्धुलीकै आर्थिक विकासमा सहयोग पुग्ने जनाए । प्रदेश संसद बसन्त माझीले मरिणको विकासका लागि स्थानीय, प्रदेश र संघीय सरकारले विशेष ध्यान दिनु पर्ने बताए । उता मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले मरिणको कपिलाकोटदेखि भालुमारासम्मको क्षेत्रलाई कृषि औद्योगिक क्षेत्रकोरुपमा विकास गर्न संघीय सरकारसंग माग गरे । उनले भने, ‘मरिणका आम नागरीकलाई स्वरोजगार गर्नेगरी कृषि उद्योग क्षेत्रको रुपमा विकास गर्न आग्रह गर्दछु ।’

बम्जनले मरिणनदी नियन्त्रण, भूमिहिन सुकुम्बासीहरुका लागि जग्गाको व्यवस्थापन गर्दै लालपुर्जा वितरणका लागि स्थानीय सरकारले पहलगरिरहेको भन्दै प्रदेश र संघीय सरकारले समेत सहयोग गरिदिन आग्रह गरे । नेपाली कांग्रेसका सभापति उज्ज्वलप्रसाद बरालले मरिणफाँट र यहाँका जमिनहरु मरिण नदीमा वर्षेनी आउनु बाढीले कटान गरेर क्षेती गरिरहेको भन्दै यसलाई नियन्त्रण गर्न सकेमात्र मरिण क्षेत्रको समृद्धि हुने बताए ।

उनले यस्ता महोत्सवहरुमा स्थानीय उत्पादनमा जोड दिँदै युवाहरुलाई स्वोरोजगार सिर्जना गर्ने र बाहिर उत्पादनलाई निरुत्साहित गर्न सकेमात्र सुखी नेपाली र समृद्ध नेपाल बन्नेमा ठोकुवा गरे । कार्यक्रममा हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामा, घ्याङलेख गाउँपालिकाका अध्यक्ष जगत भोलन, मरिण गाउँपालिकका प्रवक्ता प्रख्यात मोक्तान, सिन्धुली उद्योग बाणिज्य संघका अध्यक्ष अमरेशचन्द्र बैदार, पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष राजन कार्की लगायतले महोत्सव सफलताको शुभकामना व्यक्त गरेका थिए ।

‘नेपाल भ्रमण वर्ष २०२० हाम्रो अभियान, समृद्ध मरिण हाम्रो पहिचान’ भन्ने मुल नारकासाथ यही माघ ७ गतेदेखि संचालन भएको मरिण महोत्सव माघ १८ गतेसम्म संचालन हुनेछ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com