७ माघ २०७६, मंगलवार

काठमाडौं, ०७ माघ । गृहमन्त्री रामबहादुर थापाले पछिल्लो समय नेपाल-चीन सम्बन्ध सुदृढ बन्दै गएको बताउनुभएको छ ।

अरनिको समाज नेपालले चिनियाँ नव वर्षका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उहाँले नेपाल-चीनबीचको सम्बन्ध प्राचीन कालदेखि रहँदै आएको बताउँदै पछिल्ला वर्षमा नेपाल-चीनबीचको सहकार्य बढ्दै गएको बताउनुभएको हो ।

“चीन र नेपाल प्राकृतिक रुपले मात्र जोडिएको छैनन्, सांस्कृतिक र सामाजिक रुपले समेत जोडिएको छ, यसलाई निरन्तरता दिनुपर्छ,” उहाँले भन्नुभयो । उहाँले चीनले नेपालको विकासका लागि गरेको कामको उच्च प्रशंसा गर्नुभयो ।

गृहमन्त्री थापाले तीन महिना अगाडि भएको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले नेपाल चीनको सम्बन्धलाई नयाँ उचाइमा पु-याएको बताउनुभयो । उहाँले चीनमा पढेर नेपाल फर्केका विद्यार्थीबाट स्थापना गरिएको अरनिको समाज नेपालले नेपाल चीन सम्बन्धलाई झन नजिक बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीन-नेपाल सम्बन्ध धेरै पुरानो भएको बताउँदै आउँदो दिनमा उक्त सम्बन्धलाई निरन्तरता दिने बताउनुभयो । नेपालको विकासका लागि चीनको सधैँ साथ र सहयोग रहने उहाँको भनाइ थियो ।

LIVE TV