भलिबल च्याम्पियनसिप २०२० : महिलाको सेमिफाईनल समिकरण पूरा



प्रकाशित मिति : Jan 21, 2020

काठमाडौं, ०७ माघ । नेपाल भलिबल संघको आयोजनामा पाँचौ आरबीबी एनभिए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० को महिला तर्फको सेमिफाईनल समिकरण पूरा भएको छ ।

मंगलबार सम्पन्न ग्रुप ‘ए’ मा दुई विभागिय टोलीबीचको प्रतिस्पर्धामा एपिएफ सेनाको टिएसीमाथि ३ – १ को जित निकाल्दै समूह विजेता बन्न सफल भयो । एपिएफले टिएसीलाई २५–१०, १९–२५, २५–१८, २५–११ अंकले पराजित गरेको हो । दुवै टिम यस अघिनै सेमिफाईनल प्रवेश गरिसकेका थिए ।

महिलाकै समूह ‘बी’ को प्रतिस्पर्धामा होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस् क्लब र ढोरपाटन स्पोर्टस् क्लबवीचको खेलमा न्यू डायमण्डले जित निकाल्यो । न्यू डायमन्डले २५–३, २५–१६, २५–१२ को जित निकालेको हो । यसकासाथै न्यू डायमण्ड समूह विजेता बन्दै सेमिफाईनलमा सेनासंगको भिडन्त पक्का ग¥यो ।

अव सेमिफाईनलमा एपिएफले समूह ‘बी’ को उपविजेता अर्को विभागिय टोली नेपाल पुलिस क्लबसंग र टिएसीले समूह ‘बी’ को बिजेता होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस् क्लब संग फाईनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा संचालित प्रतियोगिताको पुरुषतर्फ लिगको अन्तिम खेलमा एपिएफ र पुलिस क्लबले जित निकालेका छन् । एपिएफले ग्रुप ‘बी’ मा जावलाखेल भलिबल ट्रेनिङ्ग सेन्टर (जेभिसी) लाई २५–१४, २५–१०, २५–०९ को सोझो सेटमा पराजित गर्दै ६ अंक सहित समूह विजेता भयो । यस्तै पुलिसले पनि समूह ‘सी’ को खेलमा मणिमुकुन्द भलिबल क्लब (एमभिसी) लाई २५–१४, २५–२०, २५–१४ ले पराजित गर्दै समूह विजेता बन्न सफल भयो ।

यसका साथै पुरुषतर्फ क्वाटरफाईनको समिकरण पूरा भएको छ । पुरुषतर्फ क्वाटरफाईनलमा समूह ‘ए’ को बिजेता सेनाको टिएसीले समूह ‘सी’ को उपविजेता मणिमुकुन्द भलिबल क्लबसंग प्रतिस्पर्धा गर्ने छ । यस्तै समूह ‘बी’ को बिजेता एपिएफले समूह ‘डी’ को उपविजेता बुद्धटोल युवा भलिबल क्लबसंग प्रतिस्पर्धा गर्नेछ । समूह ‘सी’ को बिजेता नेपाल पुलिस क्लबले समूह ‘ए’ को उपविजेता नयाँबजार सामाजिक युवा क्लबसंग तथा समूह ‘डी’ को बिजेता हेल्प नेपाल स्पोर्टस् क्लबले समूह ‘बी’को उपबिजेता बुलबुले रारा क्लबसंग प्रतिस्पर्धा गर्ने भएका छन् ।

भोलि बुधबार पुरुष तर्फको क्वाटरफाईनलका खेलहरु हुने छन् । जसमा पहिलो खेल ९ : ३० बजे टिएसी र मणिमुकुन्द भलिबल क्लब, दोश्रो खेल ११ : ३० बजे एपिएफ र बुद्धटोल युवा भलिबल क्लब, तेश्रो खेल १३ : ३० बजे पुलिस क्लब र नयाँबजार सामाजिक युवा क्बल तथा चौथो खेल १५ : ३० बजे हेल्प नेपाल र बुलबुले रारा क्लबवीच हुने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com