अपाङ्गता भएका व्यक्तिहरुलाई फाइबरको सिरक



प्रकाशित मिति : Jan 21, 2020
  • अमर काफ्ले,

इनरुवा, ०७ माघ । सुनसरीको लौकहीमा पूर्ण र अति अशक्त अपाङ्गता भएका १ सय बढी व्यक्तिहरुलाई फाइबरको सिरक वितरण गरिएको छ ।

सामाजिक अभियन्ता दिनेशकुमार लम्सालले दाताहरुबाट जुटाएको सहयोग औपचारिक कार्यक्रमकाबीच पूर्ण र अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुका लागि प्रदान गरिएको हो ।

इलाका प्रहरी कार्यालय लौकहीको आयोजना र वर्णमाला दैनिकसँगको समन्वयमा आयोजित कार्यक्रममा अपाङगता भएका व्यक्तिहरुलाई गाउँपालिका अध्यक्षहरु ऐयुब अन्सारी, महेन्द्र यादव सहित सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोखरेल र ट्राफिक प्रहरी प्रमुख भीम दाहालले फाइबरको सिरक र न्यायो टोपी वितरण गरेका हुन् ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमसँग जोडेर टोपी र फाइबरको सिरक वितरण कार्यक्रमको आयोजना गरिएको कार्यक्रम आयोजक इलाका प्रहरी कार्यालय लौकहीका इन्चार्ज शिव शर्माले जानकारी दिए ।

सामाजिक अभियन्ता लम्सालले यसअघि इनरुवामा रहेका १ सय ६५ जना अपाङगता भएका व्यक्तिहरुलाई फाइबरको सिरक वितरण गरिसकेका छन् ।

लम्सालले सामुदायिक विद्यालयमा पुगेर विपन्न समूदायका बालबालिकाहरुकालागि न्यायो टोली लगाईदिने कार्यक्रमलाई समेत निरन्तरता दिइरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com