एकीकृत जाँच चौकी : उद्योगी व्यवसायी उत्साहित, दशक अघिको डिजाइनमा बनाउँदा केही अभाव खट्कियो



प्रकाशित मिति : Jan 21, 2020
  • तारा आचार्य,

विराटनगर, ७ माघ । १० बर्ष अघि डिजाइन गरेर दुई बर्ष अघि निर्माण थालिएको विराटनगरको बुधनगरस्थित एकीकृत जाँच चौकी आईसीपी मंगलबारदेखि सञ्चालनमा आएको छ ।

तर, डिजाइन गरिएको समयको भौतिक पूर्वाधार अहिले आएर लागू गर्दा केही व्यवधान भोग्नु पर्ने अवस्था आएकोप्रति उद्घाटनसंगसंगै गुनासो पनि उठेका छन् ।

मंगलबार नेपाल र भारतका प्रधानमन्त्रीहरुले संयुक्तरुपमा भिडियो कन्फरेन्स मार्फत उद्घाटन गरे संगै विराटनगरको बुधनगरमा निर्माण गरिएको एकीकृत जाँच चौकी आईसीपी सञ्चालनमा आएको छ ।

भारत सरकारको करिब १ अरब ४० करोड भारतीय रुपैयाँमा निर्माण सम्पन्न भएको सो एकीकृत जाँच चौकी गत अक्टोबरमा नै निर्माण सम्पन्न भएको थियो । जाँच चौकी निर्माणमा भौतिक पूर्वाधार तर्फ १ सय १४ करोड, फर्निचर र परामर्शमा २६ करोड गरी १ सय ४० करोड भारतीय रुपैयाँ खर्च भएको बताइएको छ ।

एकीकृत जाँच चौकी भित्र ७ वटा भवन, दुई वटा गोदाम, दुई वटा प्रोसेसिङ यार्ड, दुई वटा धर्मकाँटा र एउटा एनिमेल सेड रहेको छ । नेपाल सरकारले यस एकीकृत जाँच चौकीका लागि १ सय २९ बिगहा र बाटोका लागि ४० बिगाह गरी १ सय ६९ बिगाह जग्गा अधिग्रहण गरी हस्तान्तरण गरिएपछि २०१७ फेबु्रअरी १ देखि निर्माण कार्य शुरु भएको थियो ।

जनवरी २१ तारिखमा एकिकृत जाँच चौकी उद्घाटन गरिएपनि भन्सार, क्वारेण्टाइन, बैंक तथा सुरक्षा निकायहरुलाई व्यवस्थित गर्न केही समय लाग्ने भएकाले फेब्रुअरी १ तारिख देखि भने पूर्ण क्षमतामा सञ्चालन गर्ने तयारी गरिएको नेपाल इण्टरमोडल यातायात विकास समितिका निर्देशक हिमेन्द्र मोहन शाहीले जानकारी दिनुभयो ।

सो एकीकृत जाँच चौकी आधुनिक र सुविधा सम्पन्न भएपनि पार्किङ र गोदाम घर भने सानो रहेको भन्सार एजेण्टहरुले बताएका छन् । विराटनगर भन्सार नाकाबाट दैनिक करिब २ सय ५० वटा मालवाहक ट्रक कन्टेनरहरु नेपाल भित्रिने गरेकाले थप पार्किङ बनाउनुपर्ने विराटनगर भन्सार एजेण्ट संघका कार्यवाहक अध्यक्ष नवल किशोर उपाध्यायले बताउनु भयो ।

करिब १० वर्ष अघि डिजाइन गरिएको कारण केही पूर्वाधारहरु थप्नुपर्ने आवश्यकता रहेको नेपाल इण्टरमोडल यातायात विकास समितिले जनाएको छ । एकीकृत जाँच चौकी सञ्चालनमा आउने भएपछि यस क्षेत्रका उद्योगी व्यवसायीहरु भने आयात निर्यातमा सुविधा पुग्ने भएकाले उत्साहित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com