७ माघ २०७६, मंगलवार
  • रोशन दानी,

काठमाडौं, ०७ माघ । महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठले अवैध मदिरा बनाउदै गरेको भट्टीमा छापा हानेको छ । प्रहरीले बूढानीलकण्ठ नगरपालिका वडा नम्बर २ को संयुक्त बसपार्कस्थित कामीटारको एक भट्टी कारखानामा मंगलबार छापा हानेको हो ।

उक्त भट्टी कारखानाबाट अखाद्य पदार्थबाट बनाइएको २० हजार लिटर घरेलु मदिरा बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । अखाद्य पदार्थ र मानव स्वास्थ्यमा गम्भीर असर गर्ने रसायनयुक्त पदार्थबाट मदिरा बनाउने गरेको भन्ने सूचनाको आधारमा प्रहरी निरीक्षक भुपेन्द्र गिरीको नेतृत्वमा गएको टोलीले छापा हानेको हो ।

महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक भुपेन्द्र गिरीले विगत एक वर्षदेखि २० वटा टहरामा अबैध रुपमा घरेलु मदिरा बनाउदै आएको अनुसन्धानबाट खुल्न आएको बताए ।

उनका अनुसार उत्पादित मदिरामा होटलबाट खेर गएका अन्न, बंगुरको आन्द्राभुडी, कवाडी जुता–चप्पल, फोहोर कपडा तथा होटलबाट निस्किने फोहोरमैला लगाएतका स्वास्थ्यलाई नकरात्मक असर गर्ने पदार्थ मिसाइने गरेको पाइएको छ ।

महानगरीय प्रहरी बृत्त महाराजगञ्जका डिएसपी उमेश लम्सालका अनुसार व्यवसायिक रुपमा मदिरा उत्पादन गर्ने सञ्चालक पत्ता नलागेका कारण अन्य ४ जना मदिरा उत्पादकलाई नियन्त्रणमा लिइएको छ ।

त्यस्तै लम्सालले घरेलु मदिरा उत्पादन नियन्त्रण गर्न समाजमा सचेतनामूलक कार्यक्रम गर्न आवश्यक रहेको बताए । मदिरा उत्पादन र विक्री वितरणलाई सरकारले एउटा अभियानको रुपमा कारवाही गर्न आवश्यक रहेको उनको भनाइ थियो ।

बूढानीलकण्ठ नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष राजेन्द्र खड्काले घरेलु मदिरा उत्पादनले समाजमा विभिन्न खालका नराम्रा गतिविधि बढेको धारणा व्यक्त गरे । साथै यस किसिमको व्यवसायलाई बन्द गर्न आवश्यक रहेको पनि बताए ।

LIVE TV