७ माघ २०७६, मंगलवार
  • सविन लामिछाने,

तनहुँ, ०७ माघ । प्रेम विवाह र वैदेशिक रोजगारीका कारण तनहुँमा सम्बन्ध विच्छेद गर्ने दम्पतीको संख्यामा बृद्धि भएको छ ।

तनहुँ जिल्ला अदालतमा दर्ता भएका मुद्धाहरुमध्ये सबैभन्दा बढी सम्बन्ध विच्छेदका छन् । यस आर्थिक वर्ष २०७६/७७ को साउनदेखि अहिलेसम्म जिल्ला अदालत तनहुँमा दर्ता भएको २६२ सम्बन्ध विच्छेदका मुद्धा दर्ता भएका छन् ।

जसमध्ये १ सय ५८ वटा मुद्धाको फैसला भएको जिल्ला अदालतका श्रेस्तेदार सुर्दशन खनालले बताए । उनका अनुसार सम्बन्ध विच्छेदका मुद्धा अघिल्लो वर्षभन्दा बढेको हो । अदलतमा आएका मुद्धामध्ये लगभग आधा प्रतिशतभन्दा बढी सम्बन्ध विच्छेदका छन् ।

गत भदौ १ गतेदेखि नयाँ कानून आएपछि पुरुषहरुले सम्बन्ध विच्छेदको लागि मुद्धा दर्ता गर्ने बढेको श्रेस्तदार खनालले बताए ।

सम्बन्ध विच्छेदपछि अंश मुद्धा, माना–चामल, जबरजस्ती करणी आदिका मुद्धा बढी रहेका छन् । प्रेम विवाह, श्रीमान विदेशिएको समयमा श्रीमतीहरुको बारेमा घर परिवार तथा श्रीमानले अनावश्यक शंका, उपशंका गर्नु र घर परिवारमा मेलमिलाप नहुनु, दिनहुँ झै–झगडा हुनु आदि सम्बन्ध विच्छेदको प्रमुख कारण बन्न पुगेको हो ।

सूचना प्रविधिको बढी प्रयोग, समाजमा बढ्दै गएको खुल्ला यौन सम्बन्ध, छोरा–छोरीको चाहना विपरित घर–परिवारले विवाह गरिदिनु, आफूले चाहेको र आफूले माया गरेको व्यक्तिसँग विवाह गर्न परिवार तथा समाज बाधक बन्नु, घर–परिवार र श्रीमानले श्रीमती तथा बुहारीको ख्याल नगर्नुजस्ता कारणले पनि सम्बन्ध विच्छेदका घटनामा बृद्धि भएको बार एसोसियसन तनहुँका पूर्व अध्यक्ष परशुराम गिरीले बताए ।

उनको अनुसार सूचना प्रविधिको पहुँच बढी हुनु र विलाशी जीवन बाँच्ने चाहना राख्नुले पनि सम्बन्ध विच्छेदका घटना बढेका हुन् ।

सम्बन्ध विच्छेद गर्नेमा अधिकांश ३० वर्षभित्रका रहेका छन् । जिल्लाको अवस्था हेर्दा अन्य धेरै कारण भए पनि प्रेम विवाह र वैदेशिक रोजगारीका कारणले नै सम्बन्ध विच्छेदका घटना बढी हुने गरेको दखिएको छ ।

LIVE TV