७ माघ २०७६, मंगलवार
  • घनश्याम मिश्र

जनकपुर, ७ माघ । यहाँस्थित रेलकाे लिकमा यतिखेर स्थानीयकाे दिनचर्या नियाल्न सकिन्छ । लिक बनेकाे लामाे समयसम्म रेल सञ्चालन नहुँदा लिकमा स्थानीयहरू पैदल आवतजावतका साथै अन्य प्रयाेजनमा प्रयाेग गरिरहेका छन् ।

रेलकाे लिकमा बालबालिकाहरू निर्धक्क खेलिरहेका देखिन्छन् । गाईभैँसी चढाउनेहरु पनि देखिन्छन् । रेलको लिक स्थानीयको खेतबारी छेउमा नै रहेकोले गर्दा पनि एकतर्फबाट अर्कोतर्फ जान चौपायासहित लिक क्रस गर्ने गरेको सहजै हेर्न सकिन्छ ।

यद्यपि अब छिटै साे लिकमा रेल गुड्ने भएकाे छ । भारतबाट नेपालका लागि हिँडेको ट्रेन अबको १० दिनपछि नेपाल आइपुग्ने रेल विभागले स्पस्ट गरेको छ । विभागले फागुनसम्ममा रेल सञ्चालन गर्ने गरी तयारी द्रुत गतिमा अघि बढाएको हो ।

समग्र रेलमार्गको कार्य सम्पन्न भए पनि इनरवा नजिक अझै लिकको कार्य सम्पन्न नभएको अवस्था छ ।

सरकारले भारतीय सरकारी कम्पनी कोनकानमार्फत रेल सेट खरिद प्रक्रिया अघि बढाएको थियो । अहिले दुई वटा सेट खरिद गरेकाे छ, जसमा जम्मा १० डिब्बा रहन्छन् ।

दुवै सेटको कुल क्षमता १ हजार २०० सम्म यात्रु बोक्ने रहेको विभागले जनाएकाे छ । भारतको जयनगरबाट धनुषाको कुर्थासम्म ३५ किलोमिटर लम्बाइको यो रेलमार्गकाे अरु भौतिक पूर्वाधार निर्माण भइसकेको छ ।

कुर्थाबाट बिजलपुरा खण्ड १७ किलोमिटरसमेत गरेर ५२ किलोमिटर आगामी फागुनसम्म सम्पन्न हुने र त्यसपछि रेल त्यहाँसम्म विस्तार हुनेछ ।

LIVE TV