७ माघ २०७६, मंगलवार

भक्तपुर, ७ माघ । भक्तपुर जिल्लाकोे सूर्यविनायकमा निर्माणाधीन राष्ट्रिय प्राणी उद्यानलाई अन्तर्राष्ट्रियस्तरको जैविक अध्ययन केन्द्र बनाइने भएको छ । नेपालमा त्यस्तो जैविक अध्ययन केन्द्र अहिलेसम्म निर्माण भएको छैन । अन्तर्राष्ट्रियस्तरमा भने भारतको चण्डीगढमा यस्तै प्रकृतिको प्राणी उद्यान निर्माण भएको छ ।

उद्यानमा आउने अवलोकनकर्ताले नेपालमा पाइने सबै जनावर र चराचुरुङ्गीको एकै स्थानमा बसेर सजिलै अध्ययन र अवलोकन गर्न सकिने गरी उद्यानको गुरुयोजना निर्माण गरिएको छ । उद्यानमा नेपालमा पाइने सबै प्रजातिका जनावर बाघ, गैँडा, हात्ती, चित्तल, मृग, नीलगाई, चौरीगाई, गोही, झारल, हुँडार, हाब्रे, बाँदर, अजिङ्गरलगायत सबै प्रजातिका चरा राखिने छ ।

उक्त जनावर र चराचुरुङ्गीको सहजै अवलोकन र अध्ययन गर्न सकिने गरी प्राणी उद्यान निर्माण गर्न लागिएको हो । सूर्यविनायक नगरपालिकाको वडा नं. ६, ७ र ८ क्षेत्रको २४५ हेक्टर जमिनमा प्राणी उद्यान निर्माण हुन लागेको हो । त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थानका सहायक डिन जीवनाथ पाण्डेले प्राणी उद्यान क्षेत्रमा सातवटा क्षेत्र (जोन) निर्माण गरिने र जनावरको स्वभावअनुसार उक्त क्षेत्रमा राखिने गरी गुरुयोजना निर्माण गरिएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्राणी उद्यान निर्माण सम्पन्न भएपछि उद्यानको अध्ययन र अनुसन्धान गर्न राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका सम्बन्धित व्यक्तिको आकर्षण बढ्ने छ ।” प्राणी उद्यानको भू–बनोट जनावर र चराचुरुङ्गीका लागि अनुकूल हुने गरी कतै ओसिलो, कतै पारिलो त कतै समथर र कतै उच्च भाग रहेको छ । प्रत्येक क्षेत्रमा छुट्टाछुट्टै जनावर र जीवजन्तुको अध्ययन अनुसन्धानका लागि पार्क, वन्यजन्तु उपचार केन्द्र, जियोलोजिकल लाइब्रेरी, बोटानिकल लाइबे्ररी, सभा हल, वन्यजन्तुसम्बन्धी अनुसन्धान केन्द्र, वन्यजन्तु शैक्षिक प्रदर्शनी स्थान, मनोरञ्जनात्मक पार्क निर्माण गरिने छ ।

सूर्यविनायकमा निर्माण हुन लागेको प्राणी उद्यान केन्द्रीयस्तरको हुनेछ र सातवटै प्रदेशमा प्रदेशस्तरीय प्राणी उद्यान निर्माण गरिने गुरुयोजनामा उल्लेख छ । यो खबर आजको गोरखापत्र दैनिकमा छ ।

LIVE TV