सरकारी लक्ष्य भन्दा चालु आर्थिक वर्षमा मुल्यवृद्धि नियन्त्रण बाहिर



प्रकाशित मिति : Jan 20, 2020

काठमाडौं, ०६ माघ । मुल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको छ । चालु आर्थिक वर्षमा मुल्यवृद्धि ६ प्रतिशतभन्दा माथि पुग्न नदिने लक्ष्य भएपनि अहिले नै ६ दशमलब पाँच–पाँच प्रतिशत पुगेको हो । तथ्यांकअनुसार तरकारी, माछा–मासु, दाल, फर्निसिङको सामानको भाउ निकै बढेको छ ।

काठमाडौंमा नेपालको अन्य क्षेत्रमा भन्दा उच्च मंहगी भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । चालु आर्थिक वर्षमा काठमाडौं उपत्यकामा ७.६० प्रतिशत मुल्यवृद्धि भएको छ भने तराईमा ६.६६ प्रतिशत वृद्धि भएको छ । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुल्यवृद्धि ९.७६ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुल्यवृद्धि ४.१० प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांक छ ।

नेपाल राष्ट्रबैंकले मुल्यवृद्धि मापनका लागि ४ सय ९६ वटा वस्तुलाई लिने गर्दछ । यस मध्ये खाद्यवस्तुको हिस्सा ४१ दशमलव ९१ प्रतिशत छ भने गैरखाद्यवस्तुको हिस्सा ५६ दशमलव शुन्य ९ प्रतिशत छ । जसमा सबैभन्दा बढी हिस्सा गैरखाद्यतर्फ २० दशमलव ३० प्रतिशत घरयासी सामाग्रीले ओगट्छ । यदी यही अनुपातमा मूल्यबृद्धि हुने हो भने दुई महिनामा मुल्यवृद्धि ९ प्रतिशतको हाराहरीमा पुग्ने अर्थविद्को अनुमान छ ।

चामलदेखि तरकारी, मासुलगायत अधिकांश उपभोग्य वस्तु भारतबाट नै आयात हुने गरेको छ । त्यसले भारतमा कुनै सामानको भाउ महँगिएको अवस्थामा नेपालमा पनि स्वतः महँगी बढ्ने गरेको छ । भारतको अस्वाभाविक मूल्यवृद्धिका कारण यस्तो अवस्था आएको भन्दै राष्ट्र बैंकले मूल्यवृद्धि नियन्त्रण गर्न नसक्ने अर्थविद्को दावी छ ।

तत्कालका लागि मात्रै भएपनि मूल्यवृद्धि बाहेकका अर्थतन्त्रका सूचकांक सुधारात्मक देखिएका छन् । तर, दीर्घकालिन नहुने हुँदा मूल्यबृद्धि बढ्ने आंकडामा सरकारले ध्यान दिनुपर्ने सरोकारवालको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com