आत्मविश्वासको साँचो स्काउटलाई बनाउँदै युवा: प्रदेश ५ का प्रत्येक स्थानीय तहमा स्काउट



प्रकाशित मिति : Jan 20, 2020
  • राजिव खत्री

नवलपरासी, ६ माघ । रोल्पाका लाउड राइटर पुन मगर स्काउट तालिमका लागि नवलपरासी झरेका छन् । यस अघि उनलाई स्काउटका बारेमा कुनै जानकारी नै थिए । नेपाल स्काउटले प्रदेश स्तरीय तालिम सञ्चालन गर्ने भएपछि सामाजिक विकास मन्त्रालयले स्थानीय निकायलाई सर्कुलर गरेसँगै गंगादेव गाउँपालिकाबाट छनौट भई तालिमकालागि नवलपरासी आएका हुन् । यो तालिमले आफ्नो आत्मबल बढाउनुका साथै आपतमा परेकालाई उद्धार गर्न सक्ने सिप र आत्मविश्वास पनि जगाएको उनको अनुभव छ ।

राना जस्तै ५ नम्बर प्रदेशका १२ जिल्लाका १ सय ९ स्थानीय तहबाट ५ सय १२ सहभागी नवलपरासी स्थित त्रिवेणीको शसस्त्र प्रहरी बलको तालिम केन्द्रको कठ्यांग्रिदो चिसोमा तालिम लिई रहेका छन् । ५ रात, ६ दिनको तालिमको दौरानमा सहभागीहरुले फरक महसुस गर्न थालेको बताउछन् ।

स्काउट के हो ? स्काउट कसरी जिवन उपयोगी छ ? अप्ठ्यारो परिस्थितीमा आफुलाई कसरी अनुकुल बनाउने ? नेतृत्व विकासका सिपहरु प्रयोगात्मक विधिबाट सहभागीहरुलाई सिकाउन १ सय १० जना प्रशिक्षकहरु अहोरात्र खटिएको नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँले प्रदेश स्तरीय स्काउट आधारभूत तालिम पछि पालिकाहरुमा स्थानीय र प्रदेशमा प्रदेश स्तरीय समिती गठन गर्ने तयारी रहेको संयोजक भण्डारीले बताउनुभयो ।

स्काउटका तालिममा प्रशिक्षार्थीहरुले पेट्रोल सिस्टम अर्थात ग्रुपमा पकाएर खाने, समयमा काम सक्ने, सँगै बस्ने र आराम गर्नुपर्ने हुन्छ । तर सहभागी संख्या धेरै र पर्याप्त ठाउँको अभावमा सेन्टर कुकिङ्ग गरिएको छ । तालिमले स्वावलम्बी बनाउन, नेतृत्व बिकास गर्न र समयको परिपालन गर्न सिकाउने प्रशिक्षक सुरज खनाल बताउनुभयाे ।

यो आधारभूत तालिममा महिलातर्फ १ सय ७८ र पुरुषतर्फ ३ सय ३४ जना सहभागी छन् । सहभागीलाई ६ देखि ८ जनाको समूहमा विभाजन गरेर तालिम दिइएको छ । ८ जनासम्मको समूहलाई स्काउटमा पेट्रोल भनिन्छ ।

तालिम लिन आएका प्रशिक्षार्थीले तालिम पश्चात ११ देखि १६ वर्ष उमेर समूहका बालबालिकालाई तालिम दिन सक्छन् । बेसिक तालिम लिएकाले सदस्यता, बेडेल पावल पिक र अन्नपूर्ण ब्याच दिन सक्छन् । स्काउटको यस्तो तालिमबाट मानिसमा समूहमा बसेर काम गर्ने कला अभिवृद्धि हुने अर्का प्रशिक्षक अर्जुन श्रेष्ठको धारणा छ ।

तालिम लिन कम्तीमा १८ वर्ष उमेरको हुनुपर्छ । तालिम लिने अधिकांश शिक्षक छन् । जो शिक्षक छैनन्, आफ्नो गाउँपालिकामा ओपन इकाई चलाउन सक्छन् । एक टु«पमा २४ देखि ३२ जना हुन्छन् । नेपाल स्काउटले माघ २ देखी ८ गतेसम्म आयोजना गरेको तालिमबाट पुरुषतर्फ ४२७ औं देखी ४४० औं सम्म र महिला तर्फ ३१९ औं देखी ३२५ औं सम्मको कोर्स सञ्चालनमा छन् ।

तालिममा सहभागीहरुलाई खान, बस्न र स्काउट युनिर्फमको व्यवस्था गरिएको छ । जसका लागी नेपाल स्काउटलाई नेपाल सरकार र प्रदेश सरकारले आवश्यक सहयोग र बन्दोबस्तीको व्यवस्थामा सहयोग गरेको नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईले बताउनुभयाे ।

स्काउटको वेसिक तालिम सुरक्षाकर्मीले गर्नेभन्दा कम छैन । यो तालिम सुरक्षाकर्मीले गरेजस्तै झल्को दिन्छ । बिहान खाजा खाएपछि झन्डोत्तोलनमा सामेल हुनुअघि हरेक पेट्रोल बस्ने स्थानमा निरीक्षण हुन्छ । त्यहाँ व्यक्तिगत र क्याम्पसको सरसफाइ, नयाँ काम के भयो भन्ने जाँच हुन्छ । झन्डोत्तोलनमा कसको के कमजोरी भयो ? प्रतिवेदन सुनाइन्छ । एक जनाले गल्ती गरे सबैको गल्ती ठहरिन्छ । सबैले गल्ती गरे एकले पनि गल्ती गरेको मानिन्छ । यसले टिम प्रतिको विश्वास बढाउने निर्देशक भट्टराईको बुझाई छ ।

शसस्त्र प्रहरीको तालिम केन्द्रमा आयोजित तालिमको ५ नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एक कार्यक्रमकाबीच बिहीबार उद्घाटन भएकाे थियाे । कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले समाजमा देखिएको निराशा र कुण्ठालाई सकारात्मक र आशावादी समाजको रुपमा विकास गर्न युवाको भूमिका हुने बताउँदै स्काउटको यस किसिमको तालिमले सुचरित्र र असल नागरिक तथा समाज निर्माणमा सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले अधिकारमुखी आन्दोलनबाट मुलुक अब कर्तव्यमुखी बन्ने बाटोतर्फ अग्रसर भइरहेको भन्दै स्काउट अभियानलाई अझ गतिशिल र प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । स्काउट अभियान अब समाज सुधारमा केन्द्रित हुनुपर्ने उहाँको भनाई थियो ।

तालिम पश्चात सहभागीहरुले आफ्नो स्थानमा गएर स्काउटिङ्ग विकासमा योगदान दिने नेपाल स्काउटको विश्वास छ । सवल, इमान्दार, नेतृत्वदायी र अनुशाशित नागरिक निर्माणमा नेपाल स्काउटले पु¥याएको योगदानलाई सकारात्मक मान्न सकिन्छ । साथै, सहर केन्द्रित स्काउटिङ्गलाई अब ग्रामिण स्काउटिङ्गको अवधारणा सहित गाउँगाउँमा पु¥याउनु जरुरी छ ।

वि.सं. २००९ सालमा स्थापना भएको नेपाल स्काउट बालबालिका तथा युवा वर्गलाई स्काउटमा सहभागी गराई उनिहरुको शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक एवं संवेगात्मक भावनाको विकास गराउने उद्देश्यले स्थापित संस्था हो ।

उद्घाटन कार्यक्रममा संघीय सरकारको यूवा तथा खेलकुद विकास मन्त्रालयका सचिव रामप्रसाद थपलिया, प्रदेश मन्त्रीहरु, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, बर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा बस्याल लगायतको उपस्थिती रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com