हिमालयन चितुवा अविरलको अविरल यात्रा, जितपछि रिङ भित्रैबाट नेपाल भ्रमण बर्षको प्रचार



प्रकाशित मिति : Jan 20, 2020

टोकियो , ६ माघ । हिमालयन चितुवा नामले परिचित नेपाली किक बक्सिङ खेलाडी अबिरल घिमिरेले आफ्नो अविरल यात्रालाई निरन्तर राख्दै एक पछि अर्को कीर्तिमान कोर्न सफल भएका छन् ।
जापानमा बसेर नेपालको प्रतिनिधित्व गर्दै किक बक्सिङको व्यवसायिक भिडन्तमा आफुलाई व्यस्त राख्दै आएका अविरलले यसपटक जापानी च्याम्पियन मारिमोतोलाई पहिलो राउण्डमा नै नकआउट हान्न सफल भए ।

हिट ४६ किकबक्सिङ नाम दिइएको उपाधि भिडन्तमा अविरल लगातार १२ जित दर्ता गर्ने क्रममा शानदार खेल पेश गरेका थिए । प्रतिद्धन्दी मारिमोतोलाई चल्न समेत नदिएका अविरल हिट ४६ किक बक्सिङको उपाधि जित्ने कान्छा बक्सर पनि बनेका छन् ।

टोकियोको नागोयामा आइतबार खेल हेर्न पुगेका ठूलो संख्याका नेपालीलाई निराश नपारेका अविरलले जितपछि रिङ भित्रैबाट नेपाल भ्रमण बर्ष ट्वान्टी ट्वान्टीको प्रचार गर्दै जापानी नागरिकलाई नेपाल भ्रमणको निम्तो समेत दिएका थिए ।

काठमाडौं चन्द्रागिरी निवासी २० बर्षीय अविरलले जितपछि आफुले पाएको उपाधि आफ्ना पिता एवं प्रशिक्षक देव घिमिरे र नेपाली समर्थकहरुलाई समर्पण गरेका थिए । देव आफ्नो समयको नेपालको चर्चित एवं सफल मार्सलआर्ट खेलाडी हुन् ।

अबिरलले जापानमा रहेर नेपालको प्रतिनिधित्व गर्दै १२ खेलमा जित हासिल गरिसकेका छन् । हाल सम्म उनले ७ वटा नकआउट र ५ वटामा समान जित हासिल गरी नेपालको झण्डा फहराउन सफल भएका छन् ।

जितपछि न्यूज २४ लाई संक्षिप्त प्रतिक्रिया दिदै अविरलले नेपालको नाम र शानको लागि अझै धेरै गर्न प्रयत्नरत रहने बताए ।

उनले अर्को भिडन्त अघि नेपाल भ्रमण बर्षको प्रचार प्रसारमा संलग्न रहने बताउँदै धेरै भन्दा धेरै जापानी नागरिकलाई नेपाल भ्रमणमा पठाउने आफ्नो लक्ष्य रहने बताए ।

यता पुत्र एवं खेलाडी अविरलको एक पछि गर्दै निरन्तरको सफलताले हौसिएका पिता एवं प्रशिक्षक देव घिमिरेले अविरललाई ‘वल्र्ड क्लास’को ‘किक फाइटर’ बनाउने आफ्नो अभियानमा अर्को ईटा थपिएको भन्दै खुसी व्यक्त गरे ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com