प्रदेश न ५ का का‌ँग्रेस नेता बलदेव शर्माको निधन



प्रकाशित मिति : Jan 20, 2020

काठमाडौं, ०६ माघ । प्रदेश न ५ प्रदेशसभाका प्रमुख विपक्षी दल नेपाली का‌ँग्रेसका नेता बलदेव शर्मा पोखरेलको निधन भएको छ । क्यान्सर रोगबाट पीडित ८२ वर्षीय पोखरेलको सोमबार दिउँसो पौने दुई बजे रुपन्देहीको तिलोत्तमा – १४ खैरियास्थित आफ्नै निवासमा निधन भएको हो ।

कांग्रेसका नेता पोखरेलका एक पत्नी, चार छोरा र दुई छोरी छन् । १९९४ सालको माघ १९ गते प्युठानको तुसारामा जन्मिएका पोखरेल नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभा सदस्य बनेका थिए । उनी प्रदेशसभाकै जेष्ठ सदस्यसमेत थिए ।

२०१३ सालदेखि नेपाल छात्र संघबाट राजनीति सुरू गरेका पोखरेल २०१८ सालमा २ वर्ष नेपालगञ्जमा जेल परेका थिए । २०२६ सालदेखि २०३६ सालसम्म कांग्रेस रुपन्देहीको सचिव भएका पोखरेल कांग्रेस केन्द्रीय कार्यसमितिमा आमन्त्रित सदस्यसम्म भए ।

पोखरेललाई गत वर्ष माघमा छातीमा क्यान्सरको संक्रमण देखिएको थियो । र पछिल्लो समय शरीरभर फैलिएको थियो । लामो समय नर्भिक अस्पताल काठमाडौं र पछिल्लो समय रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराएका शर्मालाई हालै मात्र घर लगिएको थियो । २०२० सालदेखि रुपन्देहीको खैरियामा बस्दै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com