प्रचण्ड र बादलको गृह जिल्ला चितवन प्रहरी प्रमुखविहीन, गंगामा बाँध कहिलेसम्म ?



प्रकाशित मिति : Jan 20, 2020
  • केदार शर्मा

चितवन, माघ ६ । राजनीतिक लडाइँका कारण जिल्ला प्रहरी कार्यालय चितवन बिगत १६ दिनदेखि प्रहरी प्रमुखविहीन बनेको छ । निवर्तमान प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्ल सरूवा भएर महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय काठमाडौँ गएको १६ दिन बितिसक्दा समेत प्रहरी प्रधान कार्यालयले चितवनमा प्रमुखकोरुपमा कसैलाई पठाउन सकेको छैन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापाको गृहजिल्ला चितवनमा आफू निकटको प्रहरी प्रमुख पठाउन ठूलो रस्साकस्सी भइरहेको बताइएको छ । मल्लको ठाउँमा सरूवा भएकी प्रहरी प्रधान कार्यालय युएन जगेडा, नक्सालमा कार्यरत प्रहरी उपरीक्षक गंगा पन्तलाई रवाना नदिँदा चितवन प्रहरी प्रमुखविहीन भएको हो ।

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध सामाजिक सञ्जालमा नकारात्मक प्रतिक्रिया दिएको भन्दै पन्तलाई विवादमा पारिएको चर्चा राजनीति र प्रहरी वृत्तमा नै चर्चामा छ । पन्तको सरूवाको विषयमा नेकपा अध्यक्ष प्रचण्ड नै असन्तुष्ट रहेको उच्च श्रोतको भनाई छ । प्रचण्ड असन्तुष्ट भएपछि पन्तलाई रवाना नदिएको बुझिन्छ ।

जिल्लामा प्रहरी नायव उपरीक्षक एकनारायण कोइरालाले कार्यवाहक प्रमुखमा रहेर काम गरिरहेका छन् । यसरी पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको गृह जिल्लामा नै लामो समय प्रहरी प्रमुखविहीन हुनु लज्जाको विषय भएको भन्दै यतिबेला सामाजिक सञ्जालमा बिभिन्न टिप्पणी समेत आउन थालेका छन् ।

प्रचण्डको पूर्वअंगरक्षक रहेका मल्ल कार्यक्षमतामा कमजोर र विभिन्न विवादमा आएपछि उनलाई आठ महिनामा नै सरूवा गरिएको थियो । सरूवा गर्दा पनि नगएपछि बागमती प्रदेश प्रहरी कार्यालयले भनेको ठाउँमा सरूवा भएर जान मल्ललाई पुस १७ गते १२ घन्टे अल्टिमेटम सहितको आदेश दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्
Copyright © 2018 All rights reserved by NBC.
Designed by appharu.com